|

पोखरा : कास्की जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरेर बेच्नका लागि लगिरहेको ट्यांकर बिहीबार नियन्त्रणमा लियो। 

जिप्रकाले ट्यांकर नियन्त्रणमा लिएपछि डिजेल चोरीको आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन्। 

पोखरा महानगरको गगनगौंडास्थित निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर जिप्रकाले नियन्त्रणमा लिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ट्यांकर नियन्त्रण लिन आदेश दिएका हुन्।

नियन्त्रणमा लिइएको ट्याङ्कर डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ। १२ हजार लिटर क्षमताको ट्यांकरमा थप ३ हजार लिटर इन्धन भरेर बेच्न पठाइएको खुलेको छ। 

जिल्ला प्रशासन, आयल निगम र नापतौल कार्यालयले संयुक्त रुपमा जाँच्दा ३ हजार लिटर बढी इन्धन भेटिएको कास्कीका प्रजिअ घिमिरेले बताए। बिहीबार बरामद गरिएको ३ हजार लिटर डिजेलको बजार मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ पर्छ।

शुक्रबार यसबारे थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। 

‘हामीले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका छौं। अब त्यतै अनुसन्धान हुन्छ,’ प्रजिअ घिमिरेले भने। 

अख्तियारका गण्डकी प्रमुख बद्रिकुमार कार्कीले छानबिनअघि बढिसकेको बताए। शुक्रबार बिहानै जिल्ला प्रशासनले निगमको प्रादेशिक कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। 

दास निगमका कार्यालय प्रमुख भएपछि अघिल्ला २ आर्थिक वर्षभन्दा अहिले नोक्सानी दोब्बर भएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनले देखाएको छ। 

डिपोमा इन्धनको नापजाँच गर्ने कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई काम गर्न नदिई दासले आफैं गर्ने गरेको निगम श्रोतले बतायो। बिहीबार नियन्त्रणमा लिइएको ट्यांकरको चलान, बिल र गेटपाससमेत दास आफैंले बनाएको पाइएको छ। 

निगमका गण्डकी प्रदेशका कार्यालयका सूचना अधिकारी श्रीधर लामिछानेले बिहीबारदेखि नै कार्यालय प्रमुख कार्यालयको सम्पर्कमा नरहेको जानकारी दिए। 

उनले ट्यांकर नियन्त्रणमा लिएको मिडियाबाट थाहा पाएको र शुक्रबार बिहान जिल्ला प्रशासनले कागजपत्र लिएर गएको बताए। उनले कार्यालयको नियमित काम चलिरहेको बताए।

कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकालले निगमका कर्मचारीको संलग्नतामै यस्तो भएको देखिएको बताए। उनले  यसमा कर्मचारीको पनि संलग्नता देखिएकाले अनुसन्धान जारी रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.