पुरुष र महिला दुबै टिम उपाधि होडबाट बाहिर

|

ललितपुर : काठमाडौँमा जारी एसिया यु–२० रग्बी सेभेन्समा नेपालले खराब प्रर्दशन गरेको छ। पुरुष तथा महिलाका दुबै टोलीले शनिबार खेलेका सबै खेलमा हार बेहोरेका छन्। नेपाली युवा टोली दशरथ रंगशालाको आफ्नो घरेलु मैदानमा सबै प्रतिस्पर्धीसँग निरीह बन्यो। 

आइतबारसम्म चल्ने एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले आफ्नो समूह बी को तीन बटै खेलमा पराजित भयो। विपक्षीविरुद्ध एउटै स्कोर गर्न नसकेको नेपाल सेमिफाइनलमा समेत पुग्न सकेन। 

पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा झन् विशाल अन्तरले मलेसियासँग पनि नेपाल हार्न पुग्यो। नेपाललाई मलेसियाले ४४–० ले निराश बनाइदिएको हो।

लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको नेपालका लागि समूहको तेस्रो खेलमा भोगेको हारले झन् सेमिफाइनलको दौडबाट बाहिर धकेलिदियो। सो खेलमा नेपाल हङ्कङसँग ३६–० ले पराजित भयो। 

अब नेपालले पाँचौँ स्थानको लागि हुने सेमिफाइनलमा आइतबार उज्वेकिस्तासँग खेल्नेछ। सो खेलमा विजेता भए पाँचौँ स्थानका लागि भारतसँग खेल्ने मौका मिल्नेछ। भारत पाँचौँ स्थानको सेमिफाइनलमा बाइ पाएर अगाडि बढेको हो।  

आइतबार हुने सेमिफाइनलमा भने चाइनिज ताइपेईले मलेसियासँग र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्दैछन्।  यता, महिलातर्फ पनि नेपालको प्रर्दशन सुखद रहेन। डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले खेलेका सबै तीन खेलमा नै पराजित भयो।

नेपाली महिला टिम  लगातार ३ खेलमै हारेपछि उपाधि होडबाट बाहिरिएको छ। महिलातर्फ लिगमा पाएको अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ। पहिलो खेलमा हङ्कङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार्न पुग्यो।

लगातार दोस्रो हारसँगै उपाधि जित्ने अवसर गुमेको नेपालका लागि तेस्रो खेलमा थाइल्यान्डसँग ४५–० को फराकिलो हारले झन् अगाडि बढ्ने ढोका बन्द भयो। 
आइतबार अब बाँँकी तीन खेलमा जित निकाल्दा भने नेपालका लागि दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ। 

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए। सो अवसरमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतको उपस्थिति रहेको थियो।

एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा जारी दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्।
पुरुषतर्फ नेपालसहित सात टिमको सहभागिता रहेको छ। नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभागी छन्। 
यसैगरी महिलातर्फ भने नेपालसहित थाईल्यान्ड, मलेसिया र हङकङले खेलेका छन्।  

प्रतियोगितामा करिब २ सय जना विदेशी खेलाडी र २५ जना खेल निर्णायक तथा अफिसियलहरु सहभागी रहेको संघले जनाएको छ।  प्रतियोगितामा महिलातर्फ ४ टिम मात्र भएकाले एक पोलमा राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भइरहेको छ।  पुरुषतर्फ भने दुई समूहमा विभाजन गरि लिग कम नआउटका आधारमा प्रतियोगिता चलिरहेको छ  । गत वर्ष नेपालमै एसिया रग्बी यू–१८ सेभेन्सको आयोजना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.