|

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा हुने विभेदबारे सडक नाटक प्रदर्शन भएको छ। तेस्रो लिंगीका बालबालिकाले विद्यालय जाँदा विभेद भोग्नुपरेको भन्दै विभेद अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।

गाउँटोल समाजमा आफ्ना बालबालिकालाई होच्याएर बल्ने, तेस्रो लिंगीको बच्चा हुन्छ र? भन्ने गर्दा विद्यालय जानै नमान्ने वास्तविकता नाटकमार्फत देखाइएको हनी महर्जनले बताए। उनले भने‚ ‘तेस्रो लिंगीको बच्चा भन्दा मानसिक तनाव हुने रैछ’‚ महर्जनले भने, ‘यो नाटक मेरै घरको वास्तविकतासँग मेल खाने खालको छ। अरूको घरमा पनि त्यस्तै होला। यो हुनुहुँदैन।’

काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिएको सडक नाटकले ‘जबरजस्ती विवाह’बारे पनि सन्देश दिएको छ।

जबरजस्ती विवाहले परिवारमा समस्या निम्तिइरहेकाले रोजेको मान्छेसँग विवाह गर्न पाउनुपर्ने सन्देश नाटकले दिएको पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताए। ‘जबरजस्ती विवाह गर्दा विपरीतलिंगी महिलाको जिन्दगी बर्बाद भइरहेको छ’, पन्तले भने, ‘सरकारले पुरुष र महिला जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको वैवाहिक अधिकारको कानुन बनाउन ढिला गर्नु हुँदैन।’​

गाईजात्राको अवसर पारेर समर्पण सभ्य समाजले सडक नाटक प्रदर्शन गरेको हो। शनिवार वसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा देखाइएको नाटकले समलिङ्गी, तेस्रोलिंगी, उभयलिंगी, अन्तरलिंगी नागरिकलाई पनि समान व्यवहार गर्नुपर्ने सन्देश दिएको दर्शकको कथन छ।

नाटक गाईजात्राको भोलिपल्ट कीर्तिपुरमा प्रदर्शन गरिने आयोजक समर्पण सभ्य समाज नेपालले जनाएको छ। नाटक प्रदर्शनका लागि नेपालमा रहेको अमेरिकी दूतावासले सहयोग गरेको समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.