|

सल्यान : शिक्षकको माग गर्दै सल्यानको बालकन्या माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको बागचौर नगरपालिका–७ टाट्केस्थित उक्त विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालमा तालाबन्दी गरेका हुन्।

वैशाखदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ।

प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्षकको माग गर्दै तालाबन्दी गर्नुपरेको विद्यार्थी कमल वलीले बताए। ‘सामुदायिक विद्यालयमा धेरै विद्यार्थी अंग्रेजी र गणित विषयमा कमजोर छन्। तिनै विषयका शिक्षक नहुँदा हाम्रो पढाइ कस्तो होला’, उनले प्रश्न गरे।

आधा शैक्षिक सत्र सम्पन्न हुँदै गर्दा समेत पठनपाठन राम्ररी अघि बढ्न नसकेको पुष्पा वलीको भनाइ छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीले गणित र अंग्रेजी विषय पढ्नबाट वञ्चित भएको उनको भनाइ छ।

विद्यालयबाट चालू शैक्षिक सत्रमा एकजना सरुवा, नगरपालिकाको अनुदानमा अध्यापनरत ती शिक्षकलाई विनाकारण हटाइएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। एक निजी सहित तीन शिक्षकलाई नगरपालिकाले हटाएपछि पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक चक्रपाणि गौतमको भनाइ छ।

सरुवा भएर गएका शिक्षकको ठाउँमा अर्को शिक्षक आउने तयारी भएको नगरपालिकाबाट हटाइएका अनुदानका शिक्षकको सवालमा नगरपालिकाबाट नै समाधान हुनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.