|
सांकेतिक तस्विर

काठमाडौं : आइफोन उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू करिब ५० लाख रकम ठगीमा परेका छन्। 

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उनले भनेको बैंक खातामा पैसा पठाए। झण्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए। त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट करिब आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

‘तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, ‘कष्टम क्लियरेन्स’का लागि हामीलाई पैसा पठाउनुपर्छ’, भनेर महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरूबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ। 

उनीहरूको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटीएम कार्डसमेत बरामद गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.