|

काठमाडौँ : साउन पहिलो साता तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणबारे नेपाल प्रहरीले इन्टरपोलसँग सहयोग मागेको छ। सुन तस्करीमा भारत र चिनियाँ नागरिक संलग्न देखिएकाले अन्य थप सूचना लिनका लागि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो।

यसअघि पक्राउ परेका व्यक्तिहरुमध्ये केही चिनियाँ र केही भारतीय नागरिक छन्। केही चिनियाँसँग भने भारतीय आधार कार्डसमेत फेला परेकाले भारत र चीनको इन्टरपोललाई  सहयोगका लागि नेपालबाट पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपालको इन्टरपोलमार्फ भारत र हङकङको इन्टरपोललाई पत्राचार गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुष्टि गरे।

सिआईबीले भारतको इन्टरपाेल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सँग र इन्टरपाेल बेइजिङका दुईवटा सबब्यूरो (हङकङ र मकाउ) मध्ये हङकङ ब्यूरोसँग सीआइबीले सहयोग मागेको हो। पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीले सुन भारत लाने गरिएको बताउँदै आएका छन्।

सुन तस्करी प्रकरणमा हालसम्म विदेशीसहित २३ जनालाई पक्राउ गरिएको छ। आपराधिक घटनाको अनुसन्धानका क्रममा अपराधीबारे अर्को देशबाट कुनै सूचना वा जानकारी लिन आवश्यक पर्दा प्रहरीले इन्टरपाेलसँग समन्वय गर्ने गर्छ।

इन्टरपाेलका अनुसार हाल उक्त सङ्गठनका १९५ देश सदस्यका रूपमा रहेका छन्। सदस्य राष्ट्रमा इन्टरपाेल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) हुने गर्छ। आपराधिक विषयमा सूचना आदानप्रदान बाहेक फरार अपराधीको हकमा इन्टरपाेलमार्फत सूचना जारी गर्ने अभ्यास छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले अपराधको प्रकृति हेरी इन्टरपाेलसँग एक अर्का देशका प्रहरीहरूबीच सूचना आदानप्रदान हुने र यो पनि अनुसन्धानको स्वभाविक प्रक्रिया भएको बताए।

गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। 'ब्रेक शु'मा हालेर उक्त सुन ल्याइएको थियो।

विभागले झण्डै तीन हप्ता अनुसन्धान गरेपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबीले हिजो मात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन सार्वजनिक अनुरोध समेत गरेको छ। सुन तस्करीमा छानबिन आयोग गठन गर्ने दलहरुबीच सहमति भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.