|

काठमाडौं : स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापतिदेखि केन्द्रीय सदस्यहरु यतिवेला गृह जिल्लामा चुनाव प्रचारमा छन्। काठमाडौं बस्दै आएका कांग्रेसका ३० भन्दा बढी नेता आफ्नै स्थायी वसोवास भएको शहर, बजार, गाउँ र टोलमा भोट माग्नमा व्यस्त छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आगामी असार १४ गते हुने हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा पुगेका छन्।सात नम्बर प्रदेशका बिभिन्न जिल्लाका चुनावी सभामा सहभागी भएका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्रामस्थित आशाखर्च उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्। 

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका १० स्थित ऐतिहासिक कलवलगुढी केन्द्रमा मतदान गर्न एक सतादेखि झापाका बिभिन्न चुनावी सभामा सक्रिय छन्। पूर्वमहामन्त्री केवी गुरुङ इलाम नगरपालिका ७ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान गर्न गृहनगर पुगिसकेका छन्। इलाम नगरपालिकाको प्रमुखमा जिल्ला सभापति तथा सांसद हिमालय कर्मचार्य उम्मेदवार भएका छन्। 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वसांसद बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका १ स्थित सल्यानको स्थानीय विद्यालय मतदान केन्द्रमा मतदान गर्ने भएका छन्। केसी दुई सातादेखि जिल्लाका बिभिन्न चुनावी सभामा क्रियाशील छन्। कार्य सम्पादन समिति सदस्य महेश आचार्य, डा. मिनेन्द्र रिजालले विराटनगर महानगरपालिका २ शंकरपुरस्थित जनता मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

    पूर्वउपप्रधानमन्त्री एवं नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका ७ स्थित ऐतिहासिक आदर्श स्कुल मतदान केन्द्रमा मतदान गर्ने भएका छन्। केन्द्रीय सदस्य डिला संगौला, सांसद अशोक कोइराला, अमृत अर्यालले पनि महानगरपालिकाकै १० र १८ बाट मतदान गर्ने छन्। 

    केन्द्रीय सदस्य गुरुराज घिमिरेले मोरङको ग्रामथान गाउँपालिकास्थित धनीबनी गाउँको पब्लिक उच्चमाविमा मतदान गर्ने छन्। सांसद डिकबहादुर लिम्बुले भने लेटाङ नगरपालिकाबाट मतदान गर्नेछन्। नेता बालकृष्ण खाँडले रुपन्देहीका तिलोत्तमा नगरपालिकास्थित आनन्दवनमा रहेको गिर्वाण स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन्। 

    केन्द्रीय सदस्य डा.नारायण खड्काले उदयपुरको चौदण्डी नगरपालिकाको स्थानीय विद्यालयको मतदान केन्द्रमा र केन्द्रीय सदस्य लक्ष्मी परियारले त्रियुगा नगरपालिका १० स्थित बालमन्दिर मतदान केन्द्रमा मतादन गर्ने छिन्। पार्टीका पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बढुले दार्चुलाको महाकाली नगरपालिका ५ स्थित अपिनम्पा संरक्षण क्षेत्रको कार्यालय ‘क’ मतदान केन्द्रमा मतदान गर्ने छन्। 

    सांसद तथा पूर्वमन्त्रीहरु एनपी साउदले कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर २ स्थित सरस्वती उच्चमावि मतदान केन्द्रबाट, रमेश लेखकले बेदकोट नगरपालिका ८ राष्ट्रिय माविबाट मतदान गर्नेछन्। 

    केन्द्रीय सदस्य दीपक गिरीले दाङको दंगीशरण गाउँपालिका ४ को सुकदेवाको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। नेता चन्द्र भण्डारीेले छत्रेकोट गाउँपालिका १ हुँगाका जनजाग्रित मावि मतदान केन्द्रमा मतदान गर्नेछन्। अर्का यूवा नेता किशोरसिंह राठौरले बर्दियाको राजापुर नगरपालिका ६ स्थित जोगिपुर मतदान केन्द्रमा र बद्री पाण्डेले बाजुराको हिमाली गाउँपालिका ४ को शैलेश्वरी मावि शैलेश्वरी मतदान केन्द्रमा भोट हाल्ने भएका छन्।

    कांग्रेसका पाका नेता केशवकुमार वुढाथोकीले झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे उच्चमाविबाट र यूवा नेत्री सरिता प्रसार्इँले झापाकै बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्धआदर्श उच्चमावि मतदान केन्द्रमा भोट खसाल्ने भएका छन्।

    केन्द्रीय सदस्यहरु वीरबहादुर बलायरले डोटी, पार्वती डीसी चौधरीले दाङ, सुजाता परियारले इलाम, सीता गुरुङले तेह्रथुम, ईश्वरी न्यौपानेले कैलाली, भीष्मराज आङ्दम्बेले पाँचथर र मीन विश्वकर्माले धरान नगरपालिकाबाट मतदान गर्ने भएका छन्। 

    दाङको लमही नगरपालिका ८ स्थित सतवरियाका स्थायी वासिन्दा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का त्यहीँको मतदाता भए पनि स्वास्थ्यमा आएको खराबीका कारण भोट हाल्न नजाने भएका छन्। केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भोजपुर षडानन्द नगरपालिका १ स्थित शारदा उच्च मावि मतदान केन्द्रमा मतदाता नामावली भएपनि उनी गृह जिल्ला जाने वा नजाने निश्चित भएको छैन।

    यो पनि पढ्नुस्

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.