|

काठमाडौँ : र्‍याफ्टिङ खेल प्रवर्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ।

जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार र्‍याफ्टिङ हुन लागेको हो।

जिल्ला समन्वय समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ‘हामी सँगसँगै सहकार्य गरौँ’ भन्ने नारा लिएर ऐतिहासिक बागमती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो।

गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि शुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ।

जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरसहित दशवटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए। ४५ वटा डुङ्गाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ।

प्रत्येक डुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए।

बिहान ७ः३० देखि शुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ। यो अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक प्वाइन्ट अन्त्य हुनेछ। त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुनेछ। सोही मन्दिरबाट यलो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक प्वाइन्ट सकिनेछ।

त्यस्तै अन्तिम चेक प्वाइन्ट यलो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुंगिने जिल्ला समन्वय समिति, काठमाडौंले जनाएको छ। यो अभियानबाट बागमती नदीमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.