|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी शर्मिला तिवारीले काँचो केराबाट चिप्स बनाउने तालिम लिएपछि अब उनलाई व्यावसायिक रूपमा काम गर्ने मन छ। ब्लक क्षेत्रमा केरा खेती हुँदै आएको पिपलटारीमा जाडो समयमा पाकेको केरा खासै बिक्री हुँदैन। पाकेको केरा किन्नका लागि ग्राहक आउने पर्खाएमा बस्नुभन्दा केराका परिकारहरू बनाएर बजारमा पठाउँदा सहज र नाफामुखी हुने उनले बुझेकी छिन्।

सोही ठाउँका दुर्गादत्त पौडेल पनि बाँदर आतङ्कले सताएको बेलामा अरू खेती गर्नुभन्दा केरा खेती गरेर केराका विभिन्न परिकारहरू बनाएर बेच्न पाउँदा सफल हुने सम्भावना देखिएको बताउँछन्। जनज्योति सामुदायिक सिकाइ केन्द्रको आयोजनामा पिपलटारीमा चलिरहेको केराको चिप्स बनाउने तालिममा सहभागी भएका उनी पनि केराका परिकारहरूको बारेमा थाहा पाउँदा हौसिएका छन्।

प्रशिक्षक थानेश्वर भुसालले बाँदर आतङ्कबाट मुक्ति पाइने र नाफामूलक व्यवसायका लागि पनि उत्तम विकल्प केरा खेती हुने बताएपछि केरा खेतीप्रति थप आकर्षित भएको उनी बताउँछन्। ‘केराको बुँवो त्यत्तिकै कुहिएर जाने गरेको थियो। त्यसैबाट अचार बनाएर प्याकिङ गर्न सके बजारमा बिक्री हुने रहेछ। बाँदर लाग्ने खेतबारीमा केरा लगाउने हो भने बाँदरले क्षति गर्न नसक्ने रहेछ’, पौडेल भन्छन्, ‘सबै मिलेर ए ठाउँमा उद्योग खोल्ने, वडा र नगरपालिकाले उत्पादित बस्तु बिक्री गर्ने बजार खोजिदिन सके यो राम्रो र सजिलो पनि रहेछ भन्ने लाग्यो।’

पिपलटारीका तिवारी र पौडेल जस्तै कुश्मा नगरपालिका–९, १०, ११, १२ र १३ का कृषकहरू सिकाइ केन्द्र अन्तर्गत आयआर्जनका साना समूहहरूमा आबद्ध छन्। सिकाइ केन्द्रसँग जोडिएका १७ वटा समूहका प्रतिनिधिहरूलाई  बोलाएर केराको चिप्स र अन्य परिकार बनाउन प्रशिक्षण दिइएको वडाध्यक्ष रामचन्द्र सुवेदी बताउँछन्। कृषकहरूले ‘ब्लक’ मा केरा खेती गर्दै आइरहेकाले केराका परिकारलाई व्यावसायिक रूपमा उत्पादन गर्न अवस्था सहज रहेको उनको भनाइ छ।

‘ब्लकको रूपमा खेती गरिएकाले यहाँ केराको उत्पादन राम्रो हुने गरेको छ। पुस माघको समयमा पाकेको केरा कम बिक्री हुन्छ। त्यो बेलामा यसका बाई प्रोडक्टहरु बनाएर व्यावसायिक रूपमा बिक्री गर्ने हो भने बजारको समस्या रहँदैन’, सुवेदी भन्छन्, ‘यो तालिम आफैमा पूर्ण पनि होइन। अहिले सामान्यतः चिप्सहरू बनाउने प्रशिक्षण दिइए पनि दोस्रो चरणमा केराका अन्य परिकारहरू बनाउन सिकाउने हो। मेड्पा कार्यक्रमसँग जोडिएर केराको लोकताबाट रेसा निकालेर झोला उत्पादन गर्ने, पातको टपरी बनाउने लगायतका योजना पनि छन्।’

प्रशिक्षक थानेश्वर भुसालले तालिममा केरा उत्पादन, काँटछाँट र गोडमेलका कुराहरू सहित प्रशोधन अन्तर्गत केराको चिप्स बनाउन प्रशिक्षार्थीहरू सफल भएको बताए। केरालाई टिप्नेदेखि पखाल्ने, काट्ने र प्रशोधनसम्मका चरणहरूको बारेमा उनीहरूले राम्रोसँग सिकेका छन्। आलुको चिप्सभन्दा केराको चिप्स बनाउन सहज र नाफामूलक हुने भएकाले पनि यो क्षेत्रका कृषकहरूले यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सक्ने भुसाल बताउँछन्।

‘काँचो केरा एक दर्जन केरालाई ८० रुपैयाँमा बेच्दै आउनुभएको रहेछ। जाडोको समयमा केरा खासै बिक्री नहुँदा बजारको अभाव पनि हुने गरेको छ। एक दर्जनमा करिब साढे दुई किलो केरा हुँदो रहेछ। उहाँहरूले चिप्स तयार पार्न सिक्नुभएको छ’, उनले भने, ‘उद्योगका लागि अत्यावश्यक बस्तु भनेकै कच्चा पदार्थ हो, त्यो यहाँ ब्लकमा उत्पादन भइरहेको छ। काँचो केरा बिक्री गर्दा कोसाको मात्रै मूल्य हुन्छ त्यसमा गरेको श्रमको मूल्य जोडिएको हुँदैन। अहिले एक दर्जन केरा बेच्दा ८० रुपैयाँ मात्रै हुन्छ तर त्यसैलाई चिप्स बनाएर बेच्दा ८० प्लस एक सय ६० गरेर २४० रुपैयाँ पर्न आउँछ।’

सामान्यतः एक किलो आलुबाट चिप्स बनाएर बेच्दा करिब ६० रुपैयाँ नाफा हुने तर केराको त्यही परिणामबाट आलुको भन्दा दोब्बर हुने भुसालले बताए। एक किलो आलुको चिप्स २÷३ सय ग्राम बस्दा केराको भने आधा किलो नै बस्ने उनको भनाई छ। अर्कोतर्फ कुरा सामुदायिक विद्यालयहरूमा दिवा खाजाको कार्यक्रम अन्तर्गत पनि केराका परिकारहरू खुवाउन सकिने भएकाले पनि बजारीकरणको समस्या नहुने उनको भनाइ छ। स्वास्थ्यको लागि फाइदाजनक भएकोले ‘जङ्क फुड’ को सट्टामा यसको प्रयोग उत्तम हुने भएकाले विद्यालयहरूसँग सहकार्य गरेर केरालाई खाजाको रूपमा प्रयोग गर्न उपयुक्त हुने भुसालको सुझाव  छ।

आयोजक सामुदायिक सिकाइ केन्द्र अनौपचारिक शिक्षा केन्द्र अन्तर्गत सञ्चालन हुँदै आइरहेको कार्यक्रम हो। साबिकको जिल्ला शिक्षा कार्यालय रहने बेलामा जिल्लालाई पूर्ण साक्षर घोषणा नगरिएको अवस्थामा साक्षरता र साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु यसको उद्देश्य थियो। सुरुमा सामुदायिक अध्ययन केन्द्रको रूपमा रहे पनि पर्वतलाई पूर्ण साक्षर घोषणा गरिएपछि सिकाई केन्द्रको रूपमा रूपान्तरण गरिएको छ। अध्ययन केन्द्रका अध्यक्ष भगीरथ तिवारीका अनुसार पहिले साक्षर हुनका लागि अध्ययनमा जोड दिने केन्द्रहरूले अहिले जीवन निर्वाहको लागि आम्दानीको स्रोत बढाउन सकिने सीप सिक्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.