|

गौर : रौतहटको चन्द्रपुर नगरपालिकाका एक किसानले खेत भाडामा लिएर तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

चन्द्रपुर नगरपालिका–५ थलाहीटोलका ५१ वर्षीय राजेन्द्र महतोले अर्काको डेढ बिघा जग्गा भाडामा लिएर लामो समयदेखि तरकारी खेती गर्दै आएका छन्। महतोले डेढ बिघा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै आएका हुन्।

सर्लाहीको मूर्तियामा २४ बिघा जग्गामा लगाएको उखु मिलले नकिनेपछि उनको बिल्लीबाठ भएको थियो। २४ बिघा क्षेत्रफलमा रोपेको उखु मिलले समयमा नकिनेपछि उनी आफूसँग भएको सबै सम्पत्ति बेचेर सात वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा आएर खेत भाडामा लिएर तरकारी खेती थालेका हुन्।

उनले सर्लाहीमा समेत अर्काको खेत भाडामा लिएर उखु खेती गरेका थिए। सर्लाहीमा ऋणमा डुबेर रौतहट आएका महतोले अहिले भने तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन्। बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म तरकारी बारीमा काममा व्यस्त रहने महतोले सात वर्षमा आफूले अनुदानमा केही नपाएको गुनासो गरेका छन्।

तरकारी खेती गरेरै महतोले एउटा छोरालाई कम्प्युटर इन्जिनियर बनाए, छोरीको बिहे गरे र एउटा छोरालाई काठमाडौँको निजी कलेजमा पढाउँदै आएका छन्।

तरकारी खेती गरेर महतोले मासिक ७० हजारको हाराहारीमा बचत गर्ने गरेको बताए। चार,पाँचजना कर्मचारी राखेर उनले व्यावसायिक तरकारी खेती गरेका हुन्। उनले अहिलेसम्म संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट एक रुपैयाँ अनुदान पनि पाएका छैनन्। साथै सहुलियतको बीउबिजन समेत पाउन नसकेको गुनासो गरेका छन्।

अनुदानको कुरा त परै जावस् बरु उनको तरकारी बारीमा आएर फोटो खिचेर लगेर अनुदान लिने झोले किसानको संख्या देखेर उनलाई दिक्क लाग्न थालेको छ।

किसान मारमा परे पनि व्यापारी र बिचौलियाले भने कामै नगरी पैसा कमाउने गरेको महतोको भनाइ छ। तरकारीको बीउ‚ किटनाशक औषधि र मलखाद अभाव र महँगो भएका कारण आफूले भारतको घोडासानबाट ल्याउने गरेको बताए।

महतोलाई नगरपालिकाका कर्मचारी आएर राम्रो गरेका रहेछौ भन्ने तर कुनै सहयोग नगर्ने गरेको उनको गुनासो छ।

केही समयअघि चन्द्रपुर नगरपालिकाको अनुदानमा एकजनाले आफ्नो बारीमा टनेल बनाइदिएको र आफूसँग उल्टै ३० हजार मागेको महतोले बताए। ७० हजार पनि नपर्ने टनेलको बिचौलियाले नगरपालिकाबाट २ लाख निकासा गरेको आफूले सुनेको महतोले बताए। बैंकले सक्कली किसानभन्दा झोले किसानलाई सहुलियतको ऋण दिने गरेको उनको भनाइ छ।

‘मेरै तरकारी बारीको फोटो खिचेर लान्छन् अनि सहुलियतको ऋण र स्थानीय तहको अनुदान नक्कली किसानले लिन्छन्’, महतोले भने, ‘यो कुरा थाहा पाएपछि मैले मेरो बारीमा आएर कसैलाई पनि फोटो खिच्न दिने गरेको छैन।’

युवाहरू यति वेला देशमा रोजगारी छैन भन्दै विदेश जानुभन्दा आफ्नै खेतबारीमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिने महतो बताउँछन्।

त्यसैगरी जिल्लाको पूर्वी भेगमा बग्ने बागमतीको बगरमा पनि तरकारी खेती हुन थालेको छ। बागमती किनारका गाउँहरू ब्रह्मपुरी र कटरवनका किसान बगरमा परबल फलाएर राम्रो कमाइ गरिरहेका छन्।

जिल्लाको हजमिनिया, सरुअठा, झुनखुनवा, भेडियाही लगायतका गाउँका किसानले पनि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। व्यावसायिक तरकारी खेतीले किसानको आय बढाएको छ भने भारतबाट तरकारीको आयात पनि घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.