|

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर्स अवार्डको तयारी सुरु भएको छ।

अवार्ड कार्यक्रमको तयारी स्वरूप सोमबार सहारा क्लब पोखरा, सहारा युके, राम बजार सोसाइटी युके, तमु समाज युके आमा समूह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

छलफलमा सहारा युकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रूपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, तमु समाज युके आमा समूह अध्यक्ष उमा गुरुङ, राम बजार सोसाइटी युकेका अध्यक्ष रामबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ सुरज, पूर्व अध्यक्ष विक्रम थकाली, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ लगायत सहभागी बनेका थिए।

सहभागीहरूले मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको लोकप्रियता बढ्दै गएको बताए। अवार्ड कार्यक्रमलाई अझै भव्य बनाउन गर्नुपर्ने महत्त्वपूर्ण सुझावहरू दिँदै आफूहरू सदैव मञ्चको साथमा रहने प्रतिबद्धता जनाए। समाजमा रहेका विकृति विसङ्गति विरुद्ध आवाज उठाउँदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशील बन्न मञ्चलाई उनीहरूको आग्रह थियो।

तमु समाज युके आमा समूह अध्यक्ष उमा गुरुङले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ मञ्चका अध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरिन्। सहारा क्लब पोखराको संस्थापक कोषाध्यक्ष समेत रहेकी उनले अवार्ड कार्यक्रमका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । अन्य सहभागीले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने वचन दिएका थिए।

सोही कार्यक्रममा सहारा क्लब पोखराका नव निर्वाचित अध्यक्ष केशवराज बराललाई कार्य सफलताको शुभकामना सहित बधाई ज्ञापन गर्‍यो। नवनिर्वाचित अध्यक्ष बरालले आफ्नो नेतृत्वको कार्यकालमा मञ्च गण्डकीसँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए। खेल क्षेत्रका विकृति विसङ्गतिको बारेमा उजागर गर्ने काम पत्रकारको भएको भन्दै त्यसमा आफ्नो तर्फबाट सदैव साथ रहने बताए।

मञ्चले सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ मा सहयोग गर्ने सङ्घसंस्था र व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान समेत गर्‍यो। मञ्चका अध्यक्ष दिननाथ बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशी कुमार पौडेलले उनीहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए।

मञ्च गण्डकीले यही असोज ६ गते पोखरामा आयोजना गर्ने साधारण सभा र विधान अधिवेशनको तयारी समेत तीव्रताका साथ अगाडि बढेको अध्यक्ष दिननाथ बरालले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.