|

काठमाडौं : नेपालले बिहीवार शुरु हुने साफ यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिताअगाडि बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने बताए।

सबै खेलाडीले मिहिनेत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ।

पत्रकार सम्मेलनमा ६ मध्ये ५ टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए। पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन।

भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ। खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि २ वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ।

साफ नजिकिएपछि साउदी अरेबिया गएर भारतीय टोलीले बन्द प्रशिक्षण गरेको थियो। काठमाडौं आउनुअघि साउदीमा २ अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीले जनाएको छ।

भारतीय यू–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताए। २ वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिएकाले यो टोलीले राम्रो नतिजा दिने भारतीय प्रशिक्षक शुभेन्दुको विश्वास छ।

यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भारतले २/२ पटक उपाधि जितेका छन्। नेपालबाटै शुरु भएको यो उमेर समूहको च्याम्पियनसिप नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो।

सन् २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो। त्यसको २ वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो। यद्यपि, त्यो यू–१८ साफ च्याम्पियनसिप थियो।

अर्पण कार्कीको नेतृत्वमा नेपाल ५ टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो। सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो।

तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो तर यू–१८ साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पनि पार गर्न सकेन। पछिल्लो संस्करण सन् २०२२ मा यू–२० साफ च्याम्पियनसिप भारतले आयोजना गर्‍यो। तर आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेर समूहमा पनि राम्रो नतिजा ल्याउन सकेन।

सिंगल राउण्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो। यस पटक भने नेपाल यू–१९ उमेर समूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ।

माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ। बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाए पनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताए।

यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये ५ राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताए।

नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ। त्यसअघि उद्घाटन खेलमा दिउँसो भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ। यो समूहमा पाकिस्तान र माल्दिभ्स छन्। नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्ने छन्।

अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भूटान छन्।

दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने छन्। नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.