|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कार्यअन्तर्गत २०७८ माघमा इलेक्ट्रिक क्याबिनेट बक्स राख्यो। प्राधिकरणले अधिकांश सडक छेउ ढाक्ने गरी बक्स राख्यो।

उक्त बक्सले बाटो नै छेकिएपछि सर्वसाधारण ओहोरदोहोर गर्नमा हैरान भए। पैदल यात्रीलाई बाटो खोइ! भन्दै यसको चौतर्फी आलोचना भएपछि अन्तै राख्न माग उठ्यो। 

अन्ततः झण्डै २ वर्षपछि प्राधिकरणले अहिले फुटपाथ ढाक्ने गरि राखिएका ती इलेक्ट्रिक क्याबिनेट बक्सहरू हटाउन थालेको छ। अहिले कर्मचारीहरूले विकल्प खोजेर उपयुक्त स्थानमा सार्दै आएका छन्। काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको गुनासो आएको थियो।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले धमाधम पैदलयात्रुको लागि फुटपाथ छेक्ने गरि राखिएका त्यस्ता इलेक्ट्रिक क्याबिनेट बक्स सार्दै आएको बताए।

उनका अनुसार अनामनगर क्षेत्रका त्यस्ता बक्स उपयुक्त स्थानमा सार्ने काम सकिएको छ। अन्य स्थानहरूमा पनि सार्ने काम भइरहेको उनले जानकारी दिए।

पहिला नै राखिसकिएका ती बक्स सार्न दोहोरो कामसँगै खर्च पनि लाग्छ तर खर्चको विषयमा सरकारबाट नहुने प्राधिकरणका प्रवक्ता भट्टराईले बताए। ‘जहाँ जहाँ फुटपाथ छेकिएको छ, त्यहाँ त्यहाँ पछि डिजाइन बनाएर ठेकेदार कम्पनीले नै सार्छ, प्राधिकरणले होइन,’ उनले भने।   

४ वर्षमा पनि सकिएन तारको भूमिगत काम

सरकारले ४ वर्ष बित्नै लाग्दा पनि तारको भूमिगत गर्ने काम सकेको छैन। जोडिएका इलेक्ट्रिक क्याबिनेट बक्स, तारमा खिया लागेको छ तर अस्तव्यस्त तारलाई भूमिगत गरी व्यवस्थापन गर्ने बेला अहिले ती इलेक्ट्रिक क्याबिनेट बक्स सार्ने काम भइरहेको छ।

सरकारले अहिले कुरूप देखिएको बिजुली, इन्टरनेटलगायतका तार व्यवस्थित गर्ने भन्दै तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न वि.सं. २०७४ सालमा प्रक्रिया अघि बढाएको थियो। 

तार व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय निर्माण कम्पनी एईआई इन्डस्ट्रिजबीच सन् २०१९ मार्चमा ठेक्का सम्झौता भयो। यी कम्पनीले रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने सम्झौता भयो।

पछि २०७६ फागुन ५ गतेमात्र पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा तार भूमिगत गरिएको थियो। यसको सुरूवातमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्‍घाटन गरी थालनी भएको थियो।

केईआई इन्डस्ट्रिज लिमिटेड इन्डियाले पाएको ठेक्का सम्झौतानुसार रत्नपार्क‚ नयाँ बानेश्वर‚ तीनकुने‚ एयरपोर्ट‚ गौशाला‚ चाबहिल‚ चुच्चेपाटी‚ बौद्ध, जोरपाटी क्षेत्रमा तार भूमिगत गर्नुपर्ने थियो तर हालसम्म पनि काम सकिएको छैन। अर्कातर्फ भूमिगत गरिएको ठाउँमा पनि फुटपाथ छेक्ने गरी इलेक्ट्रिक क्याबिनेट बक्स राखिएका छन्।

फेरि थपियो सम्झौता अवधि

प्राधिकरणले पहिला सन् २०२१ सम्ममा उपत्यकाभित्रका सबै काम सकाउने र त्यसपछि पोखरामा पनि भूमिगत तारको काम थाल्ने लक्ष्य लिएको थियो। तर कोभिडले काम रोकिएपछि सन् २०२२ सम्ममा उपत्यकाभित्र काम सक्ने योजना बनायो।

तर यो समयमा सकिएन। प्राधिकरणले पुनः ठेक्का सम्झौताको अवधि थपेर लम्ब्याएको छ। प्राधिकरणका प्रवक्ता भट्टराईले आगामी वैशाखसम्मलाई ठेक्का सम्झौता थपेको जानकारी दिए।

‘काम गर्ने वातावरण नबन्दा ढिला भयो, वैशाखमा सबै सकिन्छ’

प्राधिकरणका प्रवक्ता भट्टराईले काम गर्ने वातावरण नमिलेकै कारण समयमा काम सम्पन्न हुन नसकेको बताए। उनले भने, ‘बेला बेलाको आन्दोलनलगायत कारणले काम गर्न सकिएन, पैदलयात्रुलाई प्राथमिकता दिनै पर्‍याे, भनेजस्तो बक्स राख्न नि ठाउँ पाउन समस्या छ।’

उनले आगामी वैशाखसम्ममा सबै काम सकिने बताए। ‘अहिले धेरै ठाउँमा तारको भूमिगत काम सकिएको छ, अब बाँकी काम वैशाखसम्ममा सकिन्छ, सम्झौता पनि त्यही समयसम्म थपिएको छ,’ उनले भने। 

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.