|

काठमाडौं: स्याङ्जाको चापाकोटका सिनियर अहेवको ९० लाखभन्दा बढी सम्पत्ति गैरकानुनी देखिएकाे छ।

चापाकोट नगरपालिकाका सिनियरअहेव विन्दु कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको आयव्यय जाँच गर्दा ९० लाख ३९ हजारकाे स्रोत नखुलेको पाइएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग​ले जनाएकाे छ।

​उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइराला र उनकी श्रीमती गीतालाई प्रतिवादी बनाउँदै आज भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गैरकानूनी आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोइरालाका नाममा समेत रहेकाले बिगो जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

अनुसन्धानका क्रममा  कोइरालाको आम्दानीतर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ देखिएको छ। 

त्यसैगरी सोही जाँच अवधिमा उनकाे व्याय (खर्च तथा लगानी)तर्फ हेर्दा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, विवाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिद गरी जम्मा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ) खर्च तथा लगानी गरेको देखिन आएको अख्तियारले जनाएको छ। 

यसबाट जाँच अवधिको दौरान उनले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा  ९० लाख ३९ हजार ६२० रूपैयाँकाे स्रोत नखुलेको पुष्टि भएको हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता दाहालले दावी गरे।

दाहालका अनुसार भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना एव‌ कैद सजाय हुन र विन्दु कोइरालाले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइ हाल कायम रहेको स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत/असुलउपरकाे मागदावी लिइएको छ ।

साथै कोइरालाले आफ्नो पदको दुरुपयोग गरी गैरकानूनीरूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोइरालासमेतको नाममा बैंक खातामा रकम मौज्दात गरिएकाे खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको सम्पत्ति बिगो जफत गर्न गीतालाई पनि प्रतिवादी बनाइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.