१५९ पसललाई कारबाही

|

काठमाडौं : सरकारले असोज १ गतेदेखि चाडबाडलक्षित बजार अनुगमन गरिरहेको छ। वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट मिलेर संयुक्त रूपमा अनुगमन हुँदै छ।

तर यही बजार अनुगमन छल्न व्यवसायीहरू पहिला नै सटर बन्द गरेर भाग्ने गरेको पाइएको छ। गत शुक्रबार कालिमाटी र कुलेश्वर क्षेत्रका पसलहरूमा छापा मार्दा उक्त पसल छेउछाउका पसलेहरुले सटर लगाएर आफ्ना पसल बन्द गरेका थिए। 

उक्त पसल गोदाममा अखाद्य वस्तु रहेको आशंकापछि अनुरोध गरेर त्यहाँ अनुगमन टोली पठाइएको छ। यसरी पसल व्यवसायीको चलाखीले अनुगमनकर्ताहरू हैरान भएका छन्।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले अरू पसलमा छापा मार्दै गर्दा त्यस पसल वरिपरीका अरु पसलहरूका सटर बन्द गरेर व्यवसायीहरू भाग्ने गरेको बताए।

‘सबैमा त्यस्तो त भएको छैन तर केही ठाउँहरूमा भने पहिलै सटर बन्द गरेर व्यवसायीहरू भागेको पाइयो,’ उनले भने, ‘यदि खाद्यवस्तुहरू राम्रो भए त त्यसरी बन्द नगर्नुपर्ने हो, यही आशंकामा त्यस्ता पसलहरू पनि हामी सिल गरी अनुगमन गर्दै छौँ।’ 

५५७ पसलमा अनुगमन गर्दा १५९ पसललाई कारबाही

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी पोखरेलले असोज १ यता ५५७ वटा पसलमा अनुगमन गरेको जानकारी दिए।

उनका अनुसार बजार अनुगमन गर्दा मापदण्डविपरीत, अखाद्य वस्तु बिक्री वितरण गरेका १५९ वटा पसललाई कारबाही गरिएको छ। यसबाट ४९ लाख ३२ हजार रुपैयाँ जरिवाना उठेको उनले बताए।

‘एक करोड मूल्य बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ,’ उनले भने। उनले बजार अनुगमनको क्रममा त्यस्ता अखाद्य वस्तुको बिक्री वितरण र मापदण्डविपरीत चले ऐनअनुसार ५ हजारदेखि ३ लाखसम्म जरिवाना गराउँदै आएको बताए।

छठसम्म बजार अनुगमन चल्ने

जब चाडपर्व आउँछ त्यस समयमा मात्रै सरकारले बजार अनुगमन गर्ने गरेको छ तैपनि प्रभावकारी अनुगमन हुँदैन। यतिखेर पनि दशैंको मुखमा चिनीलगायत खाद्य वस्तुहरूको अभाव छ। बजारमा कालोबजारी भइरहँदा उपभोक्ताहरू मारमा परेका छन्। 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईँका अनुसार पछिल्लो समय फेरि बजारमा कालोबजारी शुरू भएको छ। बजारमा चिनी नै पाइँदैन तर सरकार बजार अनुगमन गरी अभाव भएका खाद्य वस्तुहरूको व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ।

यता, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी पोखरेलले यस्ता कालोबजारी रोक्न सरकारबाट नियमित अनुगमन भइरहेको दावी गरे। ‘बजार अनुगमन त नियमित भइरहेको छ,’ उनले भने।

चाडपर्वलक्षित बजार अनुगमन भने छठसम्म चल्ने उनले बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागीमा संयुक्त रूपमा अनुगमन भइरहेको छ।

‘काठमाडौं उपत्यकाभित्र बजार अनुगमन गर्न १४५ टोली परिचालित छन्,’ उनले भने। 

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.