|

विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिएको समयअनुसार अब २ दिन मात्रै बाँकी छ।

प्रदेशको नेतृत्वका लागि यतिवेला दलका नेतादेखि सांसदहरू छलफलमा जुटेका छन्। यसै क्रममा नेपाली काँग्रेसले कोशीमा मुख्यमन्त्री पाए दलको नेता अर्थात् उद्धव थापा नै हुने नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले बताएका छन्।

मुख्यमन्त्रीको प्रस्ताव लिएर भेट्न पुगेका काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिएका हुन्।

अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने यदि दलको नेता मुख्यमन्त्री बन्न नसके विकल्पमा पार्टीभित्र सल्लाह गर्ने बताएको पराजुलीले बताए।

‘मैले पार्टी सभापतिलाई भेटेँ। कोशीको मुख्यमन्त्री म बन्नुपर्छ भनेर उहाँसँग मैले कुरा राखेँ। केन्द्रीय सदस्य पनि महानगरको नेतृत्व पनि गरेकाको उहाँले अहिले संसदीय दलको नेता म नै भन्ने प्रतिक्रिया दिनुभएको छ’, उनले भने, ‘अहिले मुख्यमन्त्री बन्दा संस्थागत रूपमा बन्छ। यदि उहाँ बन्न सक्नुभएन भने तपाईंको बारेमा छलफल गरौँला भन्नुभयो।’

कुराकानीका क्रममा राप्रपासँग निर्णायक वार्ता गरी अघि बढ्नुपर्ने सुझाव दिएको पराजुलीले जानकारी दिए।

मध्यावधिमा जान नहुने, देशको अवस्था र आर्थिक परिस्थिति पनि नराम्रो रहेको हुँदा प्रदेशप्रति वितृष्णा जाग्ने, काम नलाग्ने भन्ने अवस्था आएको छ। गणतन्त्र नचाहने, प्रणाली नचाहने, संविधान नमान्नेहरूका लागि मध्यावधिमा गएको खण्डमा खेल्ने ठाउँ भएका आफूले पार्टी सभापतिसमक्ष कुरा राखेको समेत उनले बताए।

राप्रपाले नमाने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर आफूले विकल्पमा जानुपर्नेमा जोड लिएको बताए। यद्यपि सभापतिले एमालेसँग मिलेर जाने कुरामा त्यति चासो नदिएको समेत बताए।

कुराकानीका क्रममा आफूले राप्रपा मिलाउने भनेर सभापतिले संकेत गरेको बताए। 

यतिवेला कोशी प्रदेश सरकार बनाउने अन्तिम विकल्पको तयारीमा छ। जसका लागि संविधानको धारा १६८ (५) को अन्तर्गत सरकार बनाउन नेताहरूको दौडधुप चलेको छ।

बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते शनिवार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि समय दिइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.