|

काठमाडौं : हिन्दुहरूको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन्।

उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए। चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए।

उनीहरूले बजारमा चिनीको अभाव र चामल लगायतका खाद्य सामग्रीहरूको गुणस्तरियता नभएको समेत बताए। विगतका वर्षहरूको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरूको भनाइ छ।

सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गरे। उनीहरूले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए। सामग्रीहरूको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरूको भनाइ छ।

त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताइन्। उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढे पनि अरु फलफूलमा खासै मूल्य नबढेको बताइन्। उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको जिकिर गरिन्।

उनले भनिन्, ‘महंगी बढ्यो भनेको छ, तर सामग्रीको गुणस्तर हेरेर हुन्छ, अनार, नरिवल पानी बढेको हो। व्यापार पोहोरको भन्दा धेरै कम छ। व्यापार भएको छैन। ७ वर्षमा यो पहिलो पटक यस्तो कम व्यापार भएको हो। हामीले हरेस नै खाइसक्यौँ।’ उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.