‘तयारी नपुग्दा बन्द भयो तर सुधार गरेर सञ्चालन गर्नुपर्छ’

|

काठमाडौं : २०८० जेठ ९ गते  पर्यटन क्षेत्र लक्षित ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालनको उद्‍घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भनेका थिए, ‘यो सानो काम देखिए पनि ऐन कानुनका कारण समय धेरै लाग्यो, यो सेवाले सम्पदा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु, सम्पदा क्षेत्रमा सफा राखेर नरोकी बस कुदाउन अनुरोध छ, पाहुनाहरूले राम्रो अनुभूति गर्न पाउन्।’ 

ललितपुर महानगरपालिका अगाडि उक्त सेवा सञ्चालनको उद्‍घाटन बेला व्यवस्थित तरिकाले बस सञ्चालन गर्न उनले आग्रह गरे। र पर्यटन मन्त्रालयसँगको सहकार्यमा दुई वटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालनमा आए तर सञ्चालनमा आएको २ महिनामै ‘सम्पदा घुम्ती बस’ बन्द भएको छ। 

त्यस बेला नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकामा सम्पदा घुम्ती बस सेवाका रूपमा सञ्चालनमा ल्याएको र यसको प्रमुख उद्देश्य सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने बताएका थिए।

उनले भनेका थिए, ‘विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ, नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो।’ तर उनीहरूको प्रतिबद्धता कार्यान्वयनमा आउन सकेन। 

साझा यातायातका अनुसार असार सम्म मात्रै सम्पदा घुम्ती बस चल्यो। साउनदेखि भने बन्द छ। ‘ट्रायलको लागि मात्रै सुरु गरिएको हो, त्यसैले अहिले सञ्चालन गरिएको छैन,’ साझा यातायातका एक कर्मचारीले भने।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त उदघाटनकै बेला क्षणिक नभइ दिगो रुपले नै सञ्चालन गर्नुपर्ने बताउँदै साझालाई २ करोड रुपैयाँ दिएको जानकारी दिएका थिए। तर बस भने दिगो रुपले सञ्चालनमा आउन सकेन। 

बस सञ्चालनबारे साझा र पर्यटन मन्त्रालय पन्छिँदै

सम्पदा बस सञ्चालन नआउनुको कारणबारे जानकारी लिन खोज्दा साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले केही जानकारी दिएनन्। अब पुनः सञ्चालन आउँछ आउँदैन भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा पर्यटन विभाग, मन्त्रालयसँगै बुझ्नु।’ 

यता, पर्यटन मन्त्रालयको पर्यटन विभागका योजना पूर्वाधार तथा अनुगमन शाखाका सि.डि.इ सचिन्द्रकुमार यादवले केही थाहा नभएको बताए। ‘केही थाहा छैन, यसको सञ्चालनको लागि त शहरी विकास योजना र पुरातत्वमा बुझ्नु,’ उनले भने। यस विषयमा थप बुझ्न खोज्दा पुरातत्व विभागका प्रवक्तासँग फोन सम्पर्क हुन सकेन। 

द्रुत बस सेवा पनि महिना दिनमै बन्द

सरकारले सञ्चालनमा ल्याएको ‘द्रुत बस सेवा’ पनि महिना दिनमै बन्द भएको छ। यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ।

काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्न द्रुत बस सेवा सञ्चालन गरिएको थियो।

उक्त बस सेवा सञ्चालनको उद्‍घाटनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भनेका थिए, ‘यो कार्यको लागि धेरै प्रयत्न गर्‍यौँ, पटक पटक बैठक बस्नु पर्‍याे, यो सेवा निरन्तर रुपमा सधैँको निम्ति हुने छ। अनुगमन, फलोअप हुने छ, कुनै अवस्थामा अवरोध नपुग्ने गरि निरन्तरता दिने प्रतिबद्धता राख्छु।’

उनले अन्य ठाउँमा पनि यो सेवा विस्तार गर्ने बताएका थिए तर महिना दिनमै उनको प्रतिबद्धता गफमा सीमित भयो। सडक विभागका अनुसार उक्त बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक चिह्न राख्ने लगायत काममा साढे २ करोड रुपैयाँ खर्च भएको छ।

‘तयारी नपुग्दा बन्द भयो तर सुधार गरेर सञ्चालन गर्नुपर्छ’

यातायात पूर्वाधार विज्ञ आशिष गजुरेल सरकारको तयारी नपुग्दा महिना दिनमै यो बस सेवा बन्द भएको बताउँछन्। ‘तर द्रुत बस सेवा बन्द गर्नु हुँदैन किनभने पहिलो कुरा सार्वजनिक यातायातमा सुधार चाहिएको छ र यो एउटा सुधारको प्रयास हो, अर्को कुरा कुनै पनि नयाँ काम हुँदा सफल र असफल भन्दा पनि यसको सिकाइ महत्वपूर्ण हुन्छ,’ उनले भने।

उनले बरु कमी कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए। ‘हामी एक महिनामै सफल, असफल भयौँ भन्ने हो भने नयाँ कुरा लागू गर्नुको कुनै अर्थ रहँदैन, भोलिदेखि कुनै लागू गर्दैनौँ,’ उनले भने, ‘त्यसैले लागू गरौँ,कमी कमजोरी सुधार गर्दै जानुपर्छ, यसबाट के ठीक भयो के बेठीक भयो भन्ने जानकारी भयो।’

अब त्यो जानकारीलाई विश्लेषण गरी सुधार गर्दै लानुपर्ने उनको जोड छ। ‘यसमा लागू गर्ने निकायले के सिकाई भयो, के गलत सन्देश सब जनतामाझ प्रष्ट पार्नुपर्छ, भाग्नु हुँदैन,’ उनले भने। दिगो रुपमा बस सञ्चालनको लागि विज्ञ टोली गठन गरी अध्ययन गर्नुपर्ने सरकारलाई उनको सुझाव छ।

‘विज्ञ समूह गठन गरी राम्रोसँग यसको अध्ययन गरी कमी कमजोरीको सुधार गर्नुपर्छ,’ उनले भने, ‘लेन छुट्याउनुपर्छ, यसमा द्रुत बस, दमकल, एम्बुलेन्स चलाउनुपर्छ, बजेटको व्यवस्था गरी ४ घण्टा नभई दिनभरि चल्ने व्यवस्था गर्नुपर्छ, बस स्टपमा समय तालिका टाँस्नुपर्छ।’

तिहार बिदा सकिएलगत्तै पुनः बस सञ्चालनमा आउँछ : मन्त्री ज्वाला

भौतिक पूर्वाधारमन्त्री ज्वाला भने द्रुत बस सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गरी तिहार बिदा सकिएलगत्तै पुनः सञ्चालनमा ल्याउन लागिएको दाबी गर्छन्।

दशैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको उनको भनाइ छ। 

उनका अनुसार एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बागमती प्रदेश सरकार र यातायात व्यवसायीले त्यसको अनुभव लिएका छन्। सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरू हल गर्ने गरी विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरिएको छ। 

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.