एक हप्तापछि भाडा तोकिने

|

काठमाडौं : आज (मंगलबार) पर्यटन क्षेत्र लक्षित ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालनमा आएको छ। मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुर महानगरपालिका अगाडि उक्त सेवा सञ्चालनको उद्घाटन गरेसँगै सम्पदा घुम्ती बस सञ्चालनमा आएको हो।

पर्यटन मन्त्री किरातीले व्यवस्थित तरिकाले बस सञ्चालन गर्न आग्रह गरे। उनले भने, ‘यो सानो काम देखिए पनि ऐन कानुनका कारण समय धेरै लाग्यो, यो सेवाले सम्पदा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु, सम्पदा क्षेत्रमा सफा राखेर सेवा नरोकी बस कुदाउन अनुरोध छ, पाहुनाहरू राम्रो अनुभूति गर्न पाओस्।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकामा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हप अन हप अफ बस’ सञ्चालन भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुई वटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन्। यो सेवा सञ्चालनको गर्नुको उद्देश्य उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने हो।

‘विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. रेग्मीले भने, ‘नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो।’

यी सम्पदामा चल्ने छन् बस

साझा यातायातको दुई ‘हप अन हप अफ बस’ पुल्चोकबाट टुरिष्ट बसपार्क (ललितपुर), महाँकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार सङ्ग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर, तारा गाउँ संग्राहलय बौद्धबाट नारायणगोपाल चोक, स्वयम्भू पाउ पुग्नेछ।

यस्तै, त्यहाँबाट परोपकार कालिमाटी हुँदै बल्खु चोक, एकान्तकुना, जावलाखेल‚ पुल्चोक रुट कायम गरिएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. रेग्मीका अनुसार दुई वटा बस प्रत्येक ठाउँमा आधा घण्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ।’  

एक हप्ता नि:शुल्क,पछि भाडा दर तोकिने

साझा यातायातका बाेर्ड सदस्य सुशील प्याकुरेलले उक्त सेवा एक हप्ता नि:शुल्क सञ्चालन हुने बताए। एक हप्तापछि प्रतिव्यक्ति पाँच सय रुपैयाँ भाडा तोकिने र यो भाडाले सबै सम्पदामा घुम्न पाइने जानकारी दिए।

तर पर्यटनमन्त्री किरातीको भने अझै भाडा समायोजन नभएकाले एक हप्ता पछिमात्रै भाडा कायम गरिने भनाइ छ। ‘यस्ता बस सञ्चालनको लागि भाडा कायम गर्न ऐन नै छैन रहेछ, कानुनकै समस्या छ, त्यही भएर अहिलेसम्म उपत्यकाभित्रको सार्वजनिक यातायातमा भाडा समायोजन हुन सकेको छैन,’ उनले भने।

अहिले काठमाडौं र ललितपुरमा मात्रै चल्ने

आजदेखि सञ्चालन आएको सेवा काठमाडौं र ललितपुरभित्र मात्रै सञ्चालन हुनेछ। भक्तपुर जिल्लाभित्र रुट तोकिएको छैन। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अहिले परीक्षणको लागि मात्रै सञ्चालन गरिएको र विस्तारै भक्तपुर जिल्लामा पनि यो सेवा विस्तार हुने बताए।

उनले भने, ‘हामीले साझालाई २ करोड दिएका छौँ, सहकार्य गरिरहेका छौँ। विस्तारै सबै ठाउँमा यो सेवा सञ्चालन हुन्छ, यो क्षणिक नभइ दिगो रुपले नै सञ्चालन हुनुपर्छ,’ उनले भने।

साझा यातायातका सदस्य प्याकुरेलका अनुसार हाल साझा यातायातसँग ४० वटा बस छन्। तीमध्ये अहिले २ वटा मात्र सम्पदा बस सेवामा सञ्चालन हुने छन्। ‘यो ट्रायलका रुपमा सञ्चालन गरेका हौँ,’ उनले भने, ‘विस्तारै सरकारकै सहकार्यमा अरू थप सेवा विस्तार गर्दै जाने छौँ।’

तस्विर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.