|
फाइल तस्वीर

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक बितिसक्यो।

नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्।

‘पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशकभन्दा बढी समय भइसक्यो,’ दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भने, ‘अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ।’ 

उनका अनुसार पछिल्लो एक महिनामा हात्तीले ४ स्थानीयका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पुर्‍याएको छ। जोगबुढा नदी पारि बडुवाल टोलमा ३ सय परिवारको बसोबास छ।

यहाँ दशकौँदेखि बसोबास रहे पनि स्थानीयले जग्गाको पुर्जा नपाएकाले हात्तीको आक्रमणमा ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन्।

‘यसअघि हात्तीको आक्रमणबाट स्थानीयले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे,’ वडाध्यक्ष धनाडीले भने, ‘विसं २०२४ देखि सीमामा दुःखसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो।’

भौगोलिक रुपले विकट रहेको उक्त बस्तीमा धान र गहुँ खेतीका बेला हात्तीले क्षति गर्न थालेपछि सशस्त्र प्रहरीको क्याम्पसमेत राखिएको उनले बताए।

‘वडाबाट पनि हात्ती धपाउन हामीले गाउँमा टर्च, साइरन र बत्तीको व्यवस्था गरेका छौँ,’ धनाडीले भने, ‘गाउँ पस्न पल्किसकेका हात्तीले बानी नछोड्दो रहेछन्।’

उनले भारतबाट आउने जङ्गली हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा करेन्टसहितको तारजालीको सुरुवात गरिएको भन्दै त्यो पूर्ण रुपमा कार्यान्वयनमा नआएको बताए।

‘यो समयमा यहाँका टोलवासीले राति सुत्नसमेत पाउँदैनन्,’ उनले भने, ‘यो समस्या समाधानका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौँ। अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।’

बडुवाल टोलबाट दोधारा चाँदनी नगरपालिकाको कार्यपालिकामा रहेका लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भइसकेको बताए।

‘स्थानीयले खेती त लगाउँछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भइसक्यो,’ उनले भने, ‘जग्गाको पुर्जा नभएकाले  राज्यबाट सहयोग पनि पाएका छैनन्।’

यहाँका ३ सय घरधुरीमध्ये १०/१२ परिवारसँग मात्रै जमिनको पुर्जा रहेको रानाले जानकारी दिए। ‘अन्नबाली खानका लागि हात्ती बस्ती पुगेर क्षति पुर्‍याउन थालेको १२/१३ वर्ष नै भइसक्यो,’ उनले भने, ‘एक बिघामा धान लाउनेले मुस्किलले दुई/तीन बोरा पाउँछन्।’

मङ्गलबार राति पनि हात्ती बस्ती पस्दा स्थानीय रातभरि जाग्राम बसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.