नेट रन रेटका आधारमा बहराइन सेमिफाइनलमा

|

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।

दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। 

मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  

आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मूलपानी त्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई ४ विकेटले पराजित गरे तापनि नेट रनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो।

अङ्क बराबर भए पनि हङकङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। 

यो समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (युएई) ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँग शुक्रवार खेल्नेछ।

बहराइन, हङकङ र कुवेतको बराबर २ अङ्क थियो तर बहराइनको नेट रनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रहेका कारण बहराइन सेमिफाइनल पुग्न सफल भयो। 

आजको खेलमा बहराइनले दिएको १५९ रनको लक्ष्य कुवेतले १६ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। कुवेतका लागि उस्मान पटेलले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ३४ बलमा ६ चौका र ५  छक्काको मद्दतले  सर्वाधिक ६४ रन बनाए।

कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले १५/१५ रन जोडे। बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले २/२ विकेट लिए भने अब्दुल माजिदले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो।

बहराइनका लागि इमरान अनवरले सवाधिक ३७ रनको योगदान दिए। इमरान अली र कप्तान उमर टुरले २२/२२, हैदर बटले १८, सोहिद अहमदले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले ११/११ रन बनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.