खुला वासले पीडित थप प्रभावित

|

काठमाडौं : जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जोखिम बढ्दै गएको छ।

गत शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित लामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। हाल उक्त भूकम्पले गाउँका अधिकांश घरहरू भत्किँदा गाउँभर धुलोधुँवा मात्रै रहेको र मानिसहरू खुल्ला चौरमा बसेका छन्।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार हाल भूकम्प प्रभावित क्षेत्रमा अधिकांश माटोका घर भत्किएपछि गाउँभर धुलो-प्रदूषण फैलिएको छ । पालिएका गाईवस्तुहरू मरेपछि गाउँमा त्यसकाे पनि दुर्गन्ध फैलिन थालेको छ। यसले गर्दा संक्रमणकाे उच्च जोखिम  देखिएकाे छ।

‘भूकम्प प्रभावित क्षेत्रमा धेरै घरपालुवा जनावर पुरिएर मरेपछि अहिले त्यस आसपामा दुर्गन्ध फैलन थालिसकेको छ भने मानिसहरू आसपासका खुल्ला ठाउँमा बसिरहेका छन्, यसले गर्दा संक्रमण फैलने जोखिम ठूलाे छ‘, डा खड्काले भने, ‘यति मात्रै होइन माटोले बनेका घरहरू धेरै भत्किँदा अहिले त्यस आसपासको वातावरण नै धुलाम्मे छ, यसले पनि समस्या निम्त्याउने जोखिम बढेको छ, त्यसैले अहिलेको मुख्य कुरा भनेको भूकम्प प्रभावित क्षेत्रमा सरसफाइ आवश्यक छ।’

डा खड्का अनुसार संक्रमण नफैलियाेस् भनेर हाल ७ वटा पालिकामा ७ वटा टिमलाई सरसफाइलगायतका शिक्षा दिन कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट टाेली पठाइएको छ। त्यो टिमले सरसफाइ र संक्रमण राेक्न तत्काल के गर्न सकिन्छ भनेर रिपोर्टिङ गर्ने समेत उनले बताए।

‘हामीले ७ वटा पालिकामा टिम नै पठाएका छौँ, उहाँहरूसँग खानेपानी शुद्ध गर्ने केही औषधीहरू पनि पठाएका छौँ प्रभावित ठाउँको जोखिम हेरेर उहाँहरूले वितरण गर्नुहुन्छ तर दीर्घकालीन रूपमा के गर्नुपर्ने अवस्था छ भनेर स्थानीय संघसंस्था र प्रभावितहरूसँग उहाँहरूले छलफल गरेर हामीलाई भन्नुहुन्छ’, डा खड्काले भने।

हाल जाजरकोटमा भूकम्पको इपिसेन्टर रहेका स्थानहरू यसअघि नै झाडापखालाले महामारी लिएको स्थान भएको हुँदा झन् सजग रहनुपर्ने अवस्था आएको डा खड्काले बताए।

‘जाजरकोट भनेको यसअघि नै खानेपानीलगायतको समस्याले पटकपटक झाडापखालाले महामारीकै रूप लिएको स्थान हो, अहिले भूकम्पले गर्दा खानेपानी पनि दूषित भएकाे छ, धेरै मानिस खुल्ला स्थानमा छन्। भूकम्पमा पुरिएर मरेका घरपालुवा जनावरको दुर्गन्धसमेत फैलन थालिसकेको छ, सरसफाइको कमी देखिन थालिसकेको छ, हामीले अब थप समस्या नहोस् भनेर सबै निकायसँग छलफल गरिसकेका छौँ’, डा खड्काले भने।

स्थानीय तह स्तरमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई विशेष गरी प्रभावित क्षेत्रमा सरसफाइ र शुद्ध खानेपानीलाई फोकस गरेर काम गर्न निर्देशन दिएको समेत डा खड्काले बताए। उनका अनुसार घाइतेहरूको उद्धार गरिसकेको अवस्थामा अब प्रभावित क्षेत्रका बासिन्दाहरूको बसोबास‚ खानपान र सरसफाइ नै मुख्य विषय रहेको पनि बताए।

हाल भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई मनोसामाजिक परामर्श र मानसिक समस्याको उपचार सेवासमेत आवश्यक रहेको बताउँछन् कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेल।

कडेलका अनुसार हाल भूकम्प प्रभावित क्षेत्रमा एकै पटक परिवारका धेरै सदस्य गुमेकाे, वासस्थानहरू भत्किएको हुँदा धेरै मानसिक रूपमा विक्षिप्त रहेकाले मनोपरामर्शको समेत आवश्यकता छ।

आकस्मिक उपचार र उद्धारपछि विगतमा धेरै देशमा प्राकृतिक प्रकोप आएको एक सातामै सङ्क्रामक रोगले सताउने गरेको उदाहरण पाइन्छ। यसअघि पनि नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रब टाइफसका बिरामीहरू बढेको स्वास्थ्य मन्त्रालयले तत्कालीन समयमा बताएको थियो।

सामूहिक रूपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको सङ्क्रमणको जोखिम रहन्छ। अझै पछिल्ला वर्षहरूमा नेपालमा डेंगु संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आवतजावत गर्नेको सङ्ख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने खतरा छ। ​चिसो मौसम शुरु भएकाले महिला बालबालिका तथा जेष्ठ नागरिकहरू प्रभावित हुन थालिसकेको समेत डा खड्काले बताए।

हाल भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन्। यस्तो अवस्थामा लैङ्गिक हिंसा पनि हुनसक्नेतर्फ ध्यान दिनुपर्नेमा जाेड दिइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.