|

काठमाडौं : जाजरकोट भूकम्पमा घाइते भएर भेरी अस्पतालमा उपचाररत एकजना गर्भवतीको पेटबाट मृत्यु भएको शिशु शल्यक्रिया गरि निकालेर ती गर्भवतीको ज्यान बचाइएको छ।

अस्पतालमा उपचाररत घाइतेमध्ये आमाको पेटभित्र मृत्यु भएको शिशुलाई शल्यक्रिया गरी निकालिएको हो। भेरी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कृतिपाल सुवेदीका अनुसार आइतबार बेलुकी जाजरकोटबाट ल्याइएकी घाइते १९ वर्षीयाको गर्भमै मृत्यु भएको शिशु शल्यक्रिया गरी निकालिएको हो।

अहिले ती घाइते महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए। अस्पतालमा यस्तै अर्की एक जना घाइते गर्भवतीको पनि उपचार भइरहेको छ।

गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा घाइते भएका ४३ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो।

तीमध्ये ४१ जनाको भेरी अस्पताल र २ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकोमा एकजनाको डिस्चार्ज भएको र एकजनालाई भेरी अस्पतालमा रिफर गरिएको छ।

दुवै ठाउँमा उपचाररत घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अस्पतालले ४१ जनामध्ये ७ जनाको शल्यक्रियापछि उपचाररत रहेको र आईसीयू वार्डमा  एकजना उपचाररत रहेको जनाएको छ।

अहिलेसम्म ७ जना घाइतेको अपरेसन गरिएको र तीमध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ। जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि शल्यक्रिया गरिएको छ।

आईसीयूमा भर्ना एक जनाको उपचार भइरहेको छ। पहिले सिकिस्त भए पनि हाल सुधार भइरहेका घाइतेको संख्या २ र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ जना रहेको जानकारी श्रेष्ठले दिएका छन्।

बितेको १२ घन्टाभित्र ४ जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचारपछि घर फर्किएको समेत उनले बताए। सोमवार बिहानसम्म भेरीमा २३ महिला र २० जना पुरुषको उपचार भइरहेको छ।

तीमध्ये ५ वर्षमुनिका ६ जना, ५ वर्षदेखि १५ वर्षसम्मका ५ जना, १५ वर्षदेखि १८ वर्षसम्मका ५ जना, १८ वर्षदेखि ६० वर्षसम्मका २२ जना, ६० वर्षमाथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ।

अधिकांश घाइतेमा इन्जुरी भएका कारण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा प्रकाश थापाको नेतृत्वले घाइतेको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

भूकम्पमा घाइते भएर सुर्खेत ल्याइएका ३ जना डिस्चार्ज भएका छन्। प्रदेश अस्पताल सुर्खेतका अनुसार अस्पतालमा आएका २९ जना घाइतेमध्ये उपचारपश्चात ३ जना डिस्चार्ज भएका र बाँकीलाई विभिन्न विभागमा भर्ना गरी उपचार भइरहको छ।

उपचारमा रहेकामध्ये १ जनालाई न्युरो आईसीयूको भेन्टिलेटरमा राखिएको र अन्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.