|

धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन्। 

प्रेस चौतारी धनकुटाले बिहीवार सदरमुकाम धनकुटामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको कटाक्ष गरेका हुन्।

राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम धेरै भएकाले भूकम्पपीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाइ छ। विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्पपीडितको टेन्ट उडाएको उदाहरण दिँदै नेता पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए। 

‘भूकम्प प्रभावित क्षेत्रमा सरकारका विशिष्ट व्यक्तिहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको छ,’ नेता पोखरेलले भने, ‘भूकम्पपीडितलाई अहिले रमिता हेर्ने मान्छे हैन, राहत लिएर जाने मान्छे चाहिएको छ, त्यो हामीले विचार गर्नुपर्छ।’

भूकम्पपीडितलाई राहत र उपचारका क्रममा पनि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो आएको भन्दै नेता पोखरेलले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे। 

भूकम्पपीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै नेता पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरूलाई पुनःस्थापित गर्न सहयोग गर्ने जानकारी दिए।

नेकपा एमाले धनकुटाको ७औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकका लागि धनकुटा आएका उनी आजै काठमाडौँ फर्किएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.