काठमाडौं : आइतबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेकाले आज गर्ने गरी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
लक्ष्मी पूजाका लागि आइतवार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ।
दीपमालिकासमेत गरेर मनाइने आजको पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ। लक्ष्मीपूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा पनि आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ। यसअघि गरिएको दीपावलीले काठमाडौं उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिली बनेको थियो। उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ। यसैले यो रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ। वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो।
साँझ किशोरीहरू समूह बनाई घर घरमा भैलो खेले। भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।
‘भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो,’ उनले भने।
कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ। आइतवार भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।