काठमाडौं : सामान्यतया कार्तिक कृष्ण औँसीको दिन बिहान गाईपूजा गरेर राति लक्ष्मीपूजा गर्ने परम्परा भए पनि यो वर्ष अघिल्लो दिन लक्ष्मीपूजा र भोलिपल्ट बिहान गाईतिहार परेको छ। गत वर्ष पनि यस्तै परेको थियो।
तिहारमा मात्र नभई सनातन धर्मसंस्कृति र जीवनयापनका हरेक पक्षमा गाईको महत्त्व छ। वैदिक हिन्दु धर्ममा गाईलाई ‘आमापछिको आमा’ मानिएको छ। यस्तै गाईलाई लक्ष्मीकै रूपमा पनि पुज्ने परम्परा छ। त्यसैले पनि गाईलाई माता वा लक्ष्मीकै रूपमा आराधना गर्ने गरिएको धर्मशास्त्रविद् बताउँछन्।
‘गाईबाट प्राप्त हुने दूध पौष्टिकरूपले मात्र नभई औषधीय रूपले समेत महत्त्वपूर्ण मानिन्छ’ पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष तथा धर्मशास्त्री प्राडा माधवप्रसाद भट्टराई भन्छन्, ‘दूध मात्र नभई गाईको गहुँत पनि आयुर्वेदको ठूलो औषधि मानिएको छ। यसैकारण पनि गाईलाई आमासमान मानिएको हो।
गाईबाट प्राप्त हुने गोबरले कृषि उत्पादनमा विशेष भूमिका खेलेको हुन्छ। हाम्रा धर्मकर्ममा गाईका विकार अर्थात् पञ्चगव्यलाई ठूलो महत्त्व दिएको पाइन्छ। वैदिक धर्मावलम्बीका जन्मदेखि मृत्युपर्यन्तका संस्कार गाईविना चल्न सक्दैनन्। सनातन धर्मावलम्बीका हरेक धर्मकर्ममा गाईदानको विशेष महत्त्व छ। गाई नभए पनि प्रतीकका रूपमा गाईदान गर्ने, गहुँत–गोबर आदि पञ्चगव्यले शुद्ध हुने परम्परा चलेको भट्टराई बताउँछन्।
शास्त्रका ज्ञाता लक्ष्मी वा आमाको रूपमा पुजिने गाई मौलिक जातको हुनुपर्ने तर्क गर्छन्। पुराणविद् प्रियंवदा काफ्ले ‘हाइब्रिड’ र पश्चिमा मुलुकबाट आयात गरिएका गाईबाट औषधीय गुण भएका वस्तु प्राप्त हुन नसक्ने बताउँछिन्।
धेरै दूध दिने लोभमा पश्चिमा मुलुकबाट ल्याइएका र वर्णसंकर गाईबाट प्राप्त हुँदैन’, काफ्ले भन्छिन्, ‘त्यसैले पनि रैथाने तथा मौलिक गाई जोगाउन पहल गर्नुपर्छ।’
अन्य पशुपक्षीका तुलनामा अत्यधिक गुण भएकाले पनि नेपाली समाजमा गाईलाई महत्त्वपूर्ण स्थान दिइएको बुझ्न सकिन्छ।
गाईका यिनै गुणबारे चर्चा गर्न कार्तिक कृष्ण औँसीमा पूजा गर्ने परम्परा रहेको काफ्ले बताउँछिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।