|

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन्। कृष्णपक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ।

यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको ओलाङचुङगोलाका वालुङ समुदायले मनाउँदै आएका छन्। पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टासी शेर्पाले बताए। उनका अनुसार बेल्जियमबाट ५ जना आएका थिए।

‘अघिल्लो वर्ष एक जना आउनुभएको थियो। उहाँलाई यो पर्व मन परेपछि यस वर्ष साथीहरु पनि लिएर आउनुभएको हो,’ शेर्पाले भने। उनका अनुसार पर्व अवलोकनका लागि याङ्मा, घुन्सा, लुङ्थुङ, लेलेप, सेकाथुमलगायत बस्तीबाट स्थानीयको उपस्थिति थियो।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष विकास साम्रा, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकवीर हाङ लिम्बूलगायतको टोली फुटुक मनाउन ओलाङ्चुङ्गोला पुगेको थियो।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्नुका साथै देव नृत्यसमेत देखाउने गरिन्छ। ४ दिनलाई मुख्य पर्वका रूपमा मनाउने प्रचलन रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिए। 

उनका अनुसार घ्यू र तेल लगाइ आगो बालेर आगोको रापलाई गुम्बाको धुरी कटाउँदै आज फुटुक पर्वको समापन गरिन्छ। यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिको विश्वास छ। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन्।

लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्धको अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने प्रचलन रहेको स्थानीयको भनाइ थियो। गाउँलेले रकम जुटाएर मनाउँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन।

फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ। ओलाङचुङगोलामा करिब ४ सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा छ। 

निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई वर्षेनि विशेषरूपमा मनाइँदै आइएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।

चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङचुङगोला फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ। ऐतिहासिक महत्व भएकाले यो पर्वलाई संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए। 

उनका अनुसार पालिकाले यसका लागि आर्थिक सहयोग गर्नेछ। उनका अनुसार यस गाउँमा ५५ घरधुरी छन्। यो गाउँ सदरमुकामबाट सवारीसाधन र हिँडेर गरी एक दिनमा पुगिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.