|

काठमाडौं : नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाइरहेको छ। पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्रले पुनः नयाँ इतिहास बनाएको छ।

यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ।

अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो। निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए।

‘हाम्रो विषय र कलाकार विश्वका ठूला चलचित्रसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जित हो। हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याइरहेको छ’,निर्देशक चाम्सले भने।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो चलचित्र नेपालभन्दा विदेशमा बढी चर्चित छ।

गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन्।

यही कारण बाफ्टामा चलचित्रले प्रवेश पाएको हो। निर्देशक चाम्सले बेलायतमा रहेको लन्डन सिनेआई प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाइएको बताए।

‘हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो। हामीले हाम्रो चलचित्रको स्तरीयता र विषयलाई त्यहाँ पुर्याएका छौं। आउँदो समयमा नेपाली चलचित्रलाई हेर्ने शैलीमा बाफ्टामा भिन्नता हुनेछ’, निर्देशक चाम्सले भने।

गोर्खा वारियरले हलिउडका प्रसिद्ध चलचित्रहरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनिङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता चलचित्रसँग प्रतिष्पर्धा गरिरहेको छ।

चलचित्रका अभिनेता रितेश चाम्ससँगै उल्लेखित चलचित्रका अभिनेता प्रतिष्पर्धामा छन्। यो नेपाली चलचित्रको लागि गौरवको विषय हो। गोर्खालीले रचेको इतिहास र विषयको महत्वलाई बुझेर चलचित्र तयार भएकाले पछिल्लो समय बाफ्टामा नेपाली चलचित्रले विश्व प्रसिद्ध चलचित्रकर्मीको ध्यान तानेको छ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले गरेका छन्।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.