विद्यार्थी भन्छन्– यहाँ अवसर नै छैन, किन बस्नु !
विद्यार्थी भन्छन्– यहाँ अवसर नै छैन, किन बस्नु !
काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।
त्रिविका अनुसार हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत र मैथिलीलगायत विभागमा विद्यार्थीको अभाव छ।
हिन्दी केन्द्रीय विभागमा दुई सेमेस्टरमा ६ जना विद्यार्थी भर्ना भएका छन्। कुनै वेला वार्षिक ३०० भन्दा बढी विद्यार्थी त्रिविको जनसङ्ख्या विभागमा विद्यार्थी छैनन्।यस्तै इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई, बीआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि उपस्थित हुने घटेका छन्।
शैक्षिक वर्ष २०८०/०८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ। अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा सुशीलबहादुर बज्राचार्यका अनुसार यो वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकोमा आठ हजार मात्रै सहभागी भए। गत वर्ष नौ हजार ४०० ले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित थिए।
उपत्यकाभित्र मात्र होइन, बाहिर जिल्लाका सरकारी तथा निजी क्याम्पसहरूमा पनि विद्यार्थी अभाव छ। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घटेका छन्। केही वर्षयता कतिपय आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भए।
कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको संख्या अझै घट्दो छ। गत वर्ष एक हजार ५२३ जनाले आवेदन दिएकामा ७५३ उत्तीर्ण भएका थिए। विश्वविद्यालयको कृषि संकायमा विगतमा चार हजार ५०० सम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए। पछिल्ला वर्षमा क्रमशः घट्दै गएर यो वर्ष एक हजार ३६५ जनाले मात्रै आवेदन दिएका छन्।
तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन्। भर्ना अपेक्षित नभएपछि त्रिविको त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले त स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरेको छ। पहिले मङ्सिर २५ गतेसम्म राखिएको भर्ना म्याद अब बढाएर पुस २४ गतेसम्म पुर्याइएको छ।
यसरी यता क्याम्पसहरू रित्तिँदै गर्दा उता उच्च शिक्षाका लागि विदेश जान दैनिक ७०० सय विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र(एनओसी) लिने गरेका छन्।
साउनयता ३८ हजारभन्दा बढीले लिए एनओसी
साउनयता ३८ हजार भन्दा बढी विद्यार्थीले एनओसी लिएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले गत साउन १ गतेदेखि मंसिर १६ गतेसम्ममा ३८ हजार ५६६ जनाले एनओसी लिएको जानकारी दिए।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार अहिले दैनिक ५०० देखि ७०० जनाले एनओसी लिन्छन्। गत वर्ष एक लाख विद्यार्थी एनओसी लिएर विदेश गएका थिए। अहिले पनि बिहानैदेखि नै सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा एनओसी लिनेको घुइँचो लागेको हुन्छ।
वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार गत आइतबार ७०० विद्यार्थीले एनओसी लिए। सोमबार ९०० जनाले लिए।
किन विदेशिन्छन् विद्यार्थी ?
शिक्षाविद् प्रा.डा केदारभक्त माथेमा पछिल्लो समय विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुमा थुप्रै कारण रहेको बताउँछन्। त्रिविका पूर्व उपकुलपतिसमेत उनी भन्छन्,‘पहिलो त यहाँ जति नै पढे पनि रोजगार पाइँदैन। लगानी छैन। त्यसैले पहिले नै विदेश जाने पढाइसँगै कमाउने सोच बनेको हुन सक्छ।’
उनका अनुसार नेपालमा शिक्षा होस् या स्वास्थ्य; शुल्क महँगो छ। विश्वविद्यालयका पढाइ र परीक्षाको स्तर घट्दै गएको छ। ‘यहाँ २ वर्षको स्नातकोत्तर सक्न तीन वर्ष लाग्छ। त्यसैले पनि विद्यार्थीहरू विदेश गइरहेका छन्’, उनले भने, ‘यी अलवा पनि विदेशिनुको अन्य कारण छन्, फलानाको छोरी विदेशमा गएर,पढ्यो,टन्न पैसा कमायो। अनि तिमी यहाँ के गरेर बस्या? भनेर दबाब दिने गर्दा पनि यो समस्या निम्तिएको छ।’
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल त्रिविका शैक्षिक क्यालेण्डर लागू नहुनु,सिलेबल्स अपडेट नहुनु, राजनीतिक गतिविधिका कारण पढाइमा अवरोध पुग्नुलगायत कारण यहाँका विद्यार्थी विदेशिने गरेको बताउँछन्।
‘यहाँ क्यालेण्डर फिक्स छैन। यो मितिमा परीक्षा लिने र प्रकाशित गर्ने भन्ने नै छैन’, उनी भन्छन्, ‘अपडेटेड सिलेबल्स छैन। थेउरीटिकल छ। व्यावहारिक रूपमा शिक्षा मिल्ने कोर्स छैन। त्यसैले विद्यार्थी बाहिरिनु स्वाभाविक हो।’
नेपालका कलेजहरूले गुणस्तरीय शिक्षा दिन चुक्दा पो यी समस्या आएको हो कि? भन्ने प्रश्नमा उनी त्यसो नभएको दाबी गर्छन्। ‘यहाँ राम्रा कलेजहरू पनि छन्। कमी कमजोरी भएर सुधार गर्छौँ’, उनी भन्छन्, ‘तर राज्यबाट अनुगमन हुनुपर्यो र गुणस्तरीय शिक्षा दिनेलाई प्रोत्साहन दिनुपर्यो। कमजोरी गर्नेलाई नियमन गर्नुपर्याे।’
विद्यार्थी भन्छन् : यहाँ अवसर छैन, किन पढ्नु ?
पछिल्लो समय नेपालमा १२ पास गरेलगत्तै उच्च शिक्षाको लागि विदेश जाने ‘ट्रेण्ड’ नै बसेको छ।
बुटुवालका अमित पाण्डे मंगलबार वैदेशिक अध्ययन अनुमति शाखामा एनओसी लिने लाइनमा बसिरहेका भेटिए। उनले डिप्लोमा अध्ययनका लागि क्यानडा जान लागेको बताए। उनले नेपालमा भविष्य नदेखेका कारण विदेशिन लागेको बताए।
‘यहाँ बसियो भने पढाइ मात्र हुन्छ। कमाउँदै पढ्दै गर्छु भन्दा अवसर नै छैन’, उनी थाहाखबरसँग उनले भने, ‘यता १० वर्षमा कमाउने उता एकदुई वर्षमै कमाइन्छ। पढाइसँगै करियार पनि बनाउन सकिन्छ भनेर बाहिर जान लागेको हुँ।’
धरानका मिसन तामाङ पनि सोही दिन एनओसीको लाइनमा भेटिए। उनले पनि नेपालमा रोजगारको अवसर नपाएका कारण विदेशिन लागेको बताए। ‘यहाँ पढेर पनि रोजगार छैन। बेरोजगार हुन यहाँ किन पढ्नु!’, उनले भने, ‘बाहिर गए भविष्य बन्छ। त्यसैले जान लागेको हुँ।’ उनी क्यानडा जाने तयारीमा छन्।
कहाँ चुक्यो राज्य, अब के गर्ने ?
शिक्षाविद् माथेमा राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ हेर्न नसक्दा यो परिणाम निम्तिएको बताउँछन्। ‘ती समस्याको समाधानबारे राज्य गम्भीर भएन। यो निकै गहन कुरा हो’, उनले भने, ‘त्यसैले राज्यले चाहेमा सम्बोधन गर्नसक्छ। त्यसपछि भने विद्यार्थी नेपालमै टिक्छन्।’
हिसानका अध्यक्ष सिलवालले त्रिविका शैक्षिक गुणस्तर कायम गर्न विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न आवश्यक रहेको बताए। ‘पूर्वाधार अभाव छ। यसमा पनि राज्यले लगानी गर्नुपर्याे। विश्वविद्यालयमा राजनीति अन्त्य गर्नुपर्याे’, उनले भने।
उनका अनुसार राज्यले कन्सलटेन्सीलाई नियमन गर्न सक्नु पर्छ। ‘कन्सल्टेन्सीहरूले विदेश स्वर्ग हो भनेझैँ गरी अनेक लोभ देखाएर प्रचार गर्छन्। यता नेपालको शिक्षा र नेपालकै बदनाम गरिरहेका छन्। यसले पनि नकरात्मक सन्देश फैलिएको छ। तर उच्च ओदाहाका मान्छेहरूले पैसा पाएपछि चुप बस्छन्,’ उनले भने।
सरकारले संख्यामा भन्दा गुणस्तर बढाउनुपर्ने उनको भनाइ छ। ‘त्यहाँ पैसा कमाउन,विद्यार्थीहरू विदेश नै पढ्न जाने मानसिकता बसेको छ। यसलाई रोक्न विदेश जाने विद्यार्थीहरूको स्रोत पनि सरकारले खोज्नुपर्छ। त्यसपछि रोकिन्छ।’
विदेश गएका ७० प्रतिशत विद्यार्थीहरू नेपाल नफर्किने गर्दा भविष्यमा नेपालमा ठूलो समस्या निम्तिने उनी बताउँछन्। ‘मुख्य त यो समस्या विदेश पढ्न जाने धेरै विद्यार्थी फर्किँदैनन्’, उनले भने, ‘यसलाई सरकारले गम्भीर रूपले लिनुपर्याे।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।