|

धनुषा : जिल्लाको हंसपुर नगरपालिका-५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीसँग झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन्।

स्थानीय दिपा मण्डललाई स्थानीयबिचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालय लगिएको थियो। यसै क्रममा प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि गाउँलेहरू उठेर प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको हो। गोली लागेर घाइते हुनेमा सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षिय मतलुब अन्सारी छन्।

घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको छ।

घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।

स्थानीयको भीड़ले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी प्रमुख मित्रबन्धु शर्माले बताए। आक्रोशित स्थानीयको भिड़ले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रन्जन अवाले बताए।

यता धनुषा १ का प्रतिनिधिसभा सांसद दीपक कार्कीले घटना निन्दनीय रहेको बताउँदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। साथै प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने उनले माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.