|

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।

यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए।

काठमाडौँमा आज भएको एक कार्यक्रममा अर्थमन्त्री डा महतले भने, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ। जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्छन्। न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन्।”

सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उनको भनाइ छ। 

राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताए। उनका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ। 

आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री डा महतले भने, “नेपाली युवालाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ।”

यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूको पलयान रोक्न पनि थप प्रवर्द्धन गर्न जरुरी रहेको उनको कथन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.