|

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। 

बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव  नराख्न आग्रह गरेका हुन्।

खेलाडीहरूले देशका लागि खेल्ने  भएकाले  उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो  प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि सबै तहमा  क्यानले समिति बनाएको छ।’

खेलाडीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताए।

यसका साथै क्रिकेट पूर्वाधार निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘क्रिकेटबाट नेपाललाई विश्वले चिनेको छ। देशमा पूर्वाधार अझै बन्न सकेका छैनन्, यसका लागि  सरकारको ध्यान जरुरी छ।’

कार्यक्रममा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले क्रिकेट मनोरञ्जनका लागि मात्रै नभएर देशलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमै चिनाउन सफल भएको बताए।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बैतडी क्रिकेटको उर्वरभूमि रहेको बताउँदै यहाँबाट थुप्रै खेलाडीले राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.