|

काठमाडौंँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बलियो नभई विकासले गति लिन नसक्ने बताएका छन्। एकवर्षे कार्यकाल पूरा गरेको अवसरमा मंगलबार देश र जनताका नाममा सम्बोधन गर्दै उनले व्यवस्था बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्। 

पछिल्लो समय एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएको प्रधानमन्त्री प्रचण्डको टिप्पणी छ। सम्बोधनका क्रममा उनले भने, ‘लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन, जनतामा त्यसको लाभको समान वितरण पनि हुन सक्दैन। अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन्। अहिलेभन्दा हिजोको एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिलकुल गलत छ।’

संघीयताले जनप्रतिनिधि र खर्च बढ्यो भन्ने कुरामा पनि सत्यता नरहेको प्रधानमन्त्री प्रचण्डको जिकिर छ। ‘संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ’, संघीयताको बचाउ गर्दै उनले भने, ‘तर सत्य के हो भने एकात्मक राज्य व्यवस्थामा कुल १ लाख ५५ हजार ८६२ जनप्रतिनिधि थिए भने अहिले जम्मा २८ हजार ४५३ जनप्रतिनिधि छन्। हिजो एउटा गाविसमा ४७ जना जनप्रतिनिधि थिए, ती अहिले सामान्यतया वडामा रूपान्तरण भएका छन् र जम्मा पाँचजना जनप्रतिनिधि छन्। तर तिनले गरेका कार्यले जनतालाई कति धेरै छुन्छ भन्ने उदाहरण त गत कार्तिकको जाजरकोट भूकम्पपछि बिहान ३ बजेदेखि नै भूकम्पपीडितको खोज, उद्धार र राहतमा खटेका जनप्रतिनिधिको सक्रियताले देखाउँदैन र?’

वर्तमान व्यवस्थाले नै हिजो पछाडि पारिएका दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिमको राज्यका निकायमा प्रतिनिधित्व गराएको प्रधानन्त्री प्रचण्डले बताए। ‘हिजो दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिमको राज्यका निकायमा प्रतिनिधित्व प्रतीकात्मक र दयापूर्ण थियो, आज सुनिश्चित र अधिकारपूर्ण छ। हिजो महिला अधिकार र प्रतिनिधित्व राज्यको एजेण्डामै थिएन, आज संविधानले नै केन्द्र र प्रदेशमा ३३ प्रतिशत अनि स्थानीय तहमा ४० प्रतिशत सुनिश्चित गरेको छ। हिजो न्याय माग्न पनि डराउनुपर्ने सीमान्त वर्ग र वर्ण आज आफैं न्याय दिने ठाउँमा पुगेका छन्। सामाजिक न्यायका दृष्टिले के यो ठूलो परिवर्तन होइन? ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिले अहिले पाइरहेको भत्ता सामाजिक सुरक्षाका हिसाबले ठूलो उपलब्धि होइन?’, उनको प्रश्न छ। 

प्रतिव्यक्ति आय, विदेशी मुद्रा सञ्चिति, विद्युत् उत्पादन, सडकको पहुँच, साक्षरता, औसत आयु, खानेपानी र सरसफाइमा हिजो अवस्थामा आकाशपातालको फरक रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.