एमाले र रास्वपाको प्रतिक्रिया के छ ?

|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनता र युवामा आशा जगाउन नसकेको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ। 

प्रधानमन्त्री प्रचण्डले ५० मिनेट लामो संबोधनमार्फत सरकारले गरेका काम सुनाए पनि त्यसले युवालाई बिदेश जानबाट रोक्न नसकेको कांग्रेस संस्थापन इतर समूहका नेता चन्द्र भण्डारीले बताए। 

भण्डारीले भने, ‘प्रधानमन्त्रीको काम र उपलब्धिलाई म सकारात्मक हिसाबले लिन्छु तर यो सरकारको कामबाट जनता र दिनानुदिन विदेशीएका युवा शक्तिमा आशा जगाउन सकेको छैन किनभने हामीले समयअनुसार गति लिन सकेनौँ कि भन्ने लागेको छ।’

लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि अहिलेका प्रमुख दलका शीर्ष नेताको महत्त्वपूर्ण भूमिका भए पनि समयको माग अनुसार नेतृत्व गर्न नसक्ने भण्डारीले थाहाखबरसँग बताए।

‘समयले नयाँ नेतृत्व खोजिरहेको छ। त्यो समयको आवश्यकता र लोकतन्त्रको मूल्य मान्यतामा होस् भन्ने हो। अहिले सरकारको मात्र होइन प्रमुख पार्टीमा पनि यी नेताले नेतृत्व गर्न सक्नुहुन्न भन्ने पुष्टि बिदेशिने युवाको लाइनले गर्छ’, उनले थपे।

प्रधानमन्त्रीले विद्युतीय क्षेत्रमा सरकारले ऐतिहासिक उपलब्धि हासिल गरेको बताए पनि भण्डारीले त्यो काम अहिलेको सरकारले नभइ अघिल्ला सरकारहरुको निरन्तरताबाट प्राप्त हुने परिणाम भएको र सुशासनको क्षेत्रमा पनि प्रधानमन्त्रीले भनेको जस्तो पर्याप्त नभएको उल्लेख गरेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि भण्डारीको जस्तै प्रतिक्रिया दिएको छ। प्रधानमन्त्रीसमेत सन्तुष्ट हुन नसकेको सुनिसकेपछि देश र समाज सन्तुष्ट नभएको भन्नै नपर्ने उसको दावी छ। 

प्रधानमन्त्रीले उपलब्धिमा भनेको जस्तो सुशासन र अर्थतन्त्रको सूचक यथार्थ नभएको एमालेले बताएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकारको एक वर्षे कार्यकालका कारण देश गम्भीर संकटमा फसेको दावी गरेका छन्।

‘मैले गएको एक वर्ष हेर्दा समाजका अधिकांश सूचक र राष्ट्रका आशाको ग्राफ घट्दो क्रममा देखेको छु। यसले देश गम्भीर अवस्थामा पुगेको म देख्छु’, उनले थाहाखबरसँग कुरा गर्दै भने।

मन्त्री विवादित हुँदासमेत हटाउन नसक्नु, मन्त्री प्रचारबाजीमा रमाउँदा पनि प्रधानमन्त्रीले फेरबदल गर्न नसकेर गठबन्धनको बन्धनमा परेको जस्तो देखिएको उनको टिप्पणी छ।

सत्ता टिकाउन प्रदेशमा पनि मन्त्रीपरिषद् बढी बन्ने गरेको भन्दै ज्ञवालीले अहिलेकै सरकार र गठबन्धनका कारण व्यवस्थाप्रति वितृष्णा बढेको आरोप लगाएका छन्। 

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रधानमन्त्रीले एक वर्षमा गरेको कामको रिपोर्ट कार्ड प्रस्तुत गर्नु सकारात्मक भएको बताएको छ। 

प्रधानमन्त्रीले आज एकतर्फीरुपमा आफ्नो विवरण सुनाएर आत्मरतिमा रमाए पनि आफ्नै कमजोरी महसुस गरेको प्रत्याभूति दिलाउनु महत्त्वपूर्ण भएको रास्वपाका सहप्रवक्ता मनिस झा बताउँछन्। 

गत चुनावको म्यान्डेटअनुसार अहिलेको गठबन्धनले सरकार चलाएको भन्दै उनले प्रदेश १ मा सहभागी भएर पनि प्रमुख प्रतिपक्षी दावी गर्ने एमालेले भनेको जस्तो टिप्पणी गर्न नचाहेको भन्दै कटाक्ष गरेका छन्। 

यदि अहिलेको सरकार वा प्रतिपक्षी दल जुनसुकै दलले पनि सरकारमा आउन अफर गरे आफूहरूसँग तीव्र विकास निर्माणको योजना भएको उनले सुनाए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.