ललितपुर महानगर भन्छ- कुनै जानकारी छैन

|

काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नाममा पैसा असुलेर ‘सेन्ट अप टेष्ट’ परीक्षा सञ्चालन नगर्न निर्देशन दिए पनि ललितपुरका निजी विद्यालयहरूले लिएको पाइएको छ।

केही विद्यालयहरूले एसइईको लागि सेन्टअप टेष्ट भन्दै प्रति विद्यार्थी २ हजार शुल्क लिएर परीक्षा सञ्चालन गरिसकेका छन् भने अधिकांशले अभ्यास परीक्षा भन्दै धमाधम कार्यतालिका तोक्ने योजना बनाएका छन्।

शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले २०७१ सालमै योग्यता परीक्षणको नाममा शुल्क उठाएर सेन्टअप परीक्षा लिने गरेको उजुरी नै परेपछि यो टेष्ट परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको थियो। मन्त्रालयले यो परीक्षा सञ्चालन गर्नु गैरकानुनी भनेको छ।

निर्देशनअनुसार सामुदायिक र निजी विद्यालयमा कक्षा १० मा ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई एसएलसीमा सहभागी हुनबाट रोक्न पाइने छैन। तर उक्त निर्देशनविपरीत पैसाका लागि परीक्षाको नाममा अभिभावकहरूलाई अनावश्यक तनाव दिएका छन् विद्यालयहरूले। केही विद्यालयले परीक्षा लिइसकेर पनि कापी जाँच्ने काम अहिले भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालका अनुसार कुनै पनि विद्यालयले शुल्क उठाएर टेष्ट परीक्षा सञ्चालन गर्न पाइँदैन तर स्थानीय तहसँग समन्वय गरी स्वीकृति लिएमा अभ्यास परीक्षा भने लिन सक्ने उनले बताए। तर ललितपुर महानगरपालिकाले यो टेष्ट परीक्षाका लागि महानगरपालिकामा केही जानकारी नआएको जनाएको छ। 

यता, ललितपुरको पुल्चोकस्थित मदन स्मारक विद्यालयले माघदेखि एसइईको नाममा ‘सेन्ट अप टेष्ट’ परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ। त्यहाँका एक कर्मचारीले भने, ‘अझै हाम्रोमा परीक्षा भएको छैन, अब माघमा गर्ने तयारी छ। परीक्षा चाहीँ अभ्यास परीक्षा भनेर सञ्चालन हुन्छ।’

उक्त परीक्षाको नाममा कति शुल्क उठाउने तयारी छ भन्ने प्रश्नमा यस विषयमा आफूलाई जानकारी नभएको ती कर्मचारीले बताए। 

पाटनढोकास्थित रातो बंगला स्कुलले पनि माघमा उक्त परीक्षा लिने तयारी गरेको छ। अहिले भने त्यहाँ जाडो बिदा दिइएको छ। ‘अहिले जाडो बिदा छ, यो बिदा सकिएपछि एसइईको लागि ‘सेन्ट अप टेष्ट’ परीक्षा सञ्चालन गर्ने तयारी छ। सम्भवतः परीक्षा सञ्चालन माघ महिनामा पुग्नसक्छ,’ त्यहाँका एक कर्मचारीले भने। उनले पनि शुल्कका विषयमा भने खुलाउन चाहेनन्।

स्कुललाई अब पैसा कमाउने सिजन आउँदै छ : भण्डारी

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी निजी विद्यालयहरू होस् या सरकारी अब विद्यालयहरूलाई पैसा कमाउने सिजन आएको बताउँछन्। ‘यो सिजन भनेको विद्यालयहरूलाई अनेक बहानामा पैसा असुलेर कमाउने सिजन हो तर केन्द्र सरकार होस् या स्थानीय सरकारले यसलाई रोक्नै सकेन,’ उनले भने।

उनले पनि एसइईको नाममा रकम असुलेर ‘सेन्ट अप टेष्ट’ परीक्षा सञ्चालन गर्ने विद्यालयहरू तयारी गर्दै आएको जानकारी पाएको बताए। उनका अनुसार वर्षेनि ललितपुरमा मात्र नभइ काठमाडौं उपत्यकाभित्रका अधिकांश सरकारी विद्यालयले प्रति विद्यार्थी ६ सय रुपैयाँभन्दा माथि र निजीले प्रति विद्यार्थी २ हजार रुपैयाँसम्म असुल्ने गर्छन्।

‘एसइईमा राम्रोगरि परीक्षा अभ्यास गराउनु राम्रो हो, ठीक छ तर त्यसरी बढी शुल्क लिन त भएन नि,’ उनले भने। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत पहिलो हप्तादेखि सञ्चालन हुनेगरी वार्षिक परीक्षा तालिका निकालेको छ। माघ पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक हुनेछ।

प्याब्सन भन्छ- केन्द्रकै निर्देशनअनुसार गरेको हो, बढी लिएका छैनौँ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ललितपुरका अध्यक्ष निरोज महर्जन प्याब्सन केन्द्रबाट नै निर्देशन भएअनुसार उक्त परीक्षा लिन लागिएको भन्दै पन्छिए। 

उनले भने, ‘हामीले केन्द्रकै निर्देशनअनुसार गरेका हौँ, केन्द्रले नै समन्वय गरेको होला, उतै सोध्नु।’

अहिले नै ललितपुरका निजी विद्यालयहरुले उक्त परीक्षाको लागि स्वीकृतिबिनै प्रतिविद्यार्थी २ हजार रुपैयाँ किन उठाएको भन्ने प्रश्नमा उनले नलिएको जिकिर गरे।

‘कहाँ २ हजार लिनु नि, अन्य परीक्षाहरुको लागि पनि भनेर त्यति लिएको हो कि, हामीले चाहीँ प्रतिविद्यार्थी ६ सयदेखि ७ सय रुपैयाँसम्म मात्रै लिएका छौँ।’

महानगर भन्छ : जानकारी छैन, फलोअप गर्छौं

ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले उक्त परीक्षा सञ्चालनका लागि महानगरमा केही जानकारी नआएको बताए। थाहाखबरले जानकारी गराएपछि यस विषयमा फओअप गर्ने प्रतिबद्धता भने जनाए।

‘सेन्ट अप टेष्ट परीक्षाको लागि यहाँ कसैले जानकारी दिएका छैनन्, परीक्षा सञ्चालन गर्ने हो भने त हामीसँग समन्वय गर्नुपर्‍यो, शुल्कका विषयमा छलफल गर्नुपर्‍यो, अनि पो उनीहरूले सञ्चालन गर्ने हो। यस विषयमा फलोअप गर्छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.