|

काठमाडौं : हिउँदे याम केवल चिसो याममात्र होइन। बरु हिउँद मेला–महोत्सव आयोजनाको यामका रुपमा परिचित छ। यसका साथै मेला-महोत्सव स्थानीय उत्पादन‚ कला‚ संस्कृति तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यो अर्को सकारात्मक पक्ष बनेको छ।

स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धन गर्नका लागिसमेत यस्ता मेला-महोत्सव हुँदै आएका छन्। महोत्सवबाट मौलिक संस्कृतिको संरक्षण र जगेर्नामा सघाउ पुग्ने गरेको छन्।

२ वर्षअघिसम्म कोभिड–१९ महामारी आइलागेपछि मेला–महोत्सवले गति लिन सकेन। ठप्पजस्तै देखिएका मेला-महोत्सवले कोभिड महामारी अन्त्यपछि पुनः पुरानै लय समात्न थालेका छन्।

मुलुक आर्थिक मन्दीको मारमा परिरहेका बेला यस्ता मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने गरेको छ। यसका केही गतिला उदाहरणमा ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव यही पुस ५ गतेदेखि १६ सम्म आयोजन भयो। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो।

यसैगरि रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको महोत्सव ५ दिनसम्म चल्यो। पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाले पनि आफ्नो ३२औँ संस्करण हालै सम्पन्न गरेको छ।

माघे सङ्क्रान्ति पर्व पारेर म्याग्दीको बेनी, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा ठूला मेला लाग्दै छन्। यी मेला इतिहास र परम्परासँग जोडिएका छन्। चाडपर्वका याममा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक त थपिरहेका छन् नै साथमा व्यापार व्यवसाय पनि प्रवर्द्धन गर्दै आएका छन्।

कोरोनाले थलिएको अर्थतन्त्रलाई मेला-महोत्सवले चलायमान बनाउने गरेको व्यवसायीहरू बताउँछन्। महोत्सवमा हुने किनमेल र बन्दव्यापारले थोरै भए पनि व्यवसायीले राहत महसुस गर्ने कतिपयको बुझाइ छ।

पोखरा महोत्सवको आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधिमा मेला–महोत्सवले टेवा पुर्‍याउने केही दिनअघि बताएका थिए।

‘महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्’, उनले राससलाई दिएको प्रतिक्रियामा भनेका थिए, ‘कोरोना महामारी र आर्थिक मन्दीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुगेको छ।’

देशभर नै यतिखेर मेला-महोत्सवहरू चलिरहेका छन्। यी मेला-महोत्सवको मुख्य ध्येय नै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनु र स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्नु नै हो। यतिमात्र होइन मेला-महोत्सवमा हुने कलाकारहरूको उपस्थितिले उनीहरूको आर्थिक उपार्जनमा पनि टेवा पुर्‍याइरहेको छ।

मेलामा व्यस्त कलाकार

प्रविधिको विकाससँगै क्यासेट र सिआरबिटी र पिआरबिटीको जमानाले कोल्टो फेर्‍यो। क्यासेटबाट आम्दानी गरिरहेका कलाकारहरू तथा गीत उत्पादकहरू बिस्तारै प्राविधिक र आर्थिक मन्दीको मारमा परिरहेका छन्।

युट्युबले सर्जकहरूको जीवनयापन कठिन बनाएको छ। जोखिम मोलेर नै सर्जकहरूले गीतहरू निकालिरहेका छन्। ती गीतको लगानी युट्युबबाट मात्र उठ्ने सम्भावना देखिँदैन।

यसका लागि कलाकारहरूका लागि आम्दानीको भरपर्दो स्रोत भनेको मेला-महोत्सव नै हुन्। विदेश तथा स्वदेशमा हुने मेला-महोत्सव र सांगीतिक कार्यक्रमले उनीहरूको आर्थिक उपार्जनमा राहत दिएको कुरालाई नजरअन्दाज गर्न सकिँदैन।

मेला र महोत्सवका कारण नै सर्जकले आफ्ना सिर्जना सीधै दर्शकसामु प्रस्तुत गर्दा आफ्ना सिर्जनाको लोकप्रियता मापन गर्न सक्ने आधार पनि रहेको वरिष्ठ लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने बताउँछन्।

‘युट्युबबाट सर्जकको गीत सुन्नु र सीधै स्टेजमा पुगेर दर्शकमाझ गीत सुनाउनु फरक हो। मेला-महोत्सवले दर्शक र सर्जकको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेलिरहेको छ’, उनले सुनाए, ‘सर्जक आर्थिक रुपले सम्पन्न भए मात्र नयाँ सिर्जनाको जन्म हुन्छ। यसकारण आफ्ना सम्बन्धको आधारमा मात्र नभइ राम्रा सर्जकहरूलाई पनि स्थान दिनसके मेला-महोत्सवको स्तरीयता बढ्छ भन्ने लाग्छ।‘

उनले मेला महोत्सवमा रमाइलो मात्र नभएर हाम्रा मौलिक पहिचान झल्काउन र मौलिक संस्कृति जोगाउन अहोरात्र खटिरहेका सर्जकहरूलाई पनि प्राथमिकतामा राख्न सुझाव दिन्छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव तथा लोकदोहोरी गायक शिरिष देवकोटा १० वर्षदेखि कलाकारको जीवन महोत्सवले धानेको स्विकार्छन्।

‘अहिलेका चल्तिका कलाकारले महिनामा कम्तिमा पनि १० देखि १५ वटा स्टेज कार्यक्रम गर्नुहुन्छ। जसबाट उहाँहरूले राम्रै आम्दानी गरिरहनु भएको छ’, उनले भने, ‘कोरोनाले रोकिएको महोत्सव पछिल्लो समय पुनः सञ्चालन हुँदा कलाकारहरूको आर्थिक स्थितिमा पनि सुधार आएको छ।‘

महोत्सवका लागि कलाकारहरूको माग पनि बढ्दो छ। केही दिनअघि लम्कीमा भएको महोत्सवमा पुगेकी गायिका समीक्षा अधिकारी गुल्मी हुँदै पोखरा आइपुगेकी थिइन्।  

हिजो दाङको महोत्सवमा पुगेकी गायिका रचना रिमाल आज नेपालगञ्जको महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्कन त्यहाँ पुगेकी छिन्। यस्तै पुस १४ गते मोरङमा सांगीतिक प्रस्तुती दिन पुगेकी गायिका अस्मिता अधिकारी १५ गते इलाम पुगेकी थिइन्। आज उनी बाग्लुङ महोत्सवमा सांगीतिक प्रस्तुति दिन पुगेकी छिन्।

यी त फाट्टफुट्ट टिपिएका उदाहरण मात्र हुन्। अहिलेका चल्तिका कलाकारहरू सांगीतिक प्रस्तुति गर्न देश दौडाहामा छन्। उनीहरूको यो दौडाहाले उनीहरूको लोकप्रियताको ग्राफ कस्तो छ भन्ने पनि देखाउँछ।

लोकप्रियतासँगै उनीहरूको गायनले उनीहरूको आर्थिक उपार्जनलाई पनि टेवा दिइरहेको छ। हाल आफ्नो प्रस्तुति दिन दुबई पुगेका कलाकार सुनिल क्षेत्री पनि महोत्सवले कलाकारहरूको आम्दानीमा महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।

‘महोत्सवको मुख्य आकर्षण नै गायन तथा नाच भएकाले पनि कलाकारहरूको माग बढ्दो छ’, उनले भने, ‘यसलाई सकारात्मक नै मान्नुपर्छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.