|

काठमाडौं : निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए। शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए।

‘अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ। उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ’, निर्देशक श्रेष्ठले भने, ‘मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु। किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन्।’

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाउनुभयो। ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ। मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु’, निर्देशक श्रेष्ठले भन्नुभयो। उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे। नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताए। 

‘मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ। सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु’, अभिनेता श्रेष्ठले भने, ‘म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु। परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु।’

अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताए। ‘मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ। सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ। यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु’, अभिनेत्री बुढाथोकीले भने।

चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिए। ‘मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ। निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ’, निर्माता बुढाथोकीले भने।

कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित थिए।  चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गरेका छन्।  चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.