|

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको मंगलवार हुने फाइनलमा बैतडी र कैलालीबीच प्रतिस्पर्धा हुनेछ।

यसबीच आयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघले आज (सोमवार) छनोट प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलवार बैतडी र कैलाली भिड्दै छन्।

समूह चरणका ४ खेलमध्ये ३ खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेकाले उपाधि जित्नेमा ढुक्क रहेको बैतडीका कप्तान वसन्त खत्रीले बताए। समूह चरणमा खेलमा गरेका गल्ती सुधार्दै ट्रफी उचाल्ने दावी कप्तान खत्रीको छ।

राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर र जुनियर खेलाडी समावेश बलियो टोली रहेकाले फाइनल जित्ने बैतडीका प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले विश्वास व्यक्त गरे।

बैतडीको कमजोरीको फाइदा उठाउँदै आफूहरू उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको कैलालीका कप्तान नारायण जोशीले बताए।

घरेलु मैदान र टिमको सबै पक्ष  बलियो रहेकाले ट्रफी हात पार्नेमा कुनै शंका नरहेको कैलालीका प्रशिक्षक देवनारायण झाले बताए।

समूह चरणका ४ मध्ये ३/३ खेल जितेका बैतडी शीर्ष र कैलाली दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।

फाइनल फाप्ला मैदानमा मंगलवार  बिहान ९ बजे शुरू हुनेछ।

सुदूरपश्चिम प्रदेश क्रिकेट संघको आयोजनामा पुस ८ गते शुरू भएको छनोट प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी रहेका थिए।

प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेको हो।

गत वर्षको प्रादेशिक छनोटमा सेमिफाइनल पुगेका बैतडी, अछाम, कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ, डडेल्धुरा र डोटीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेको थियो।

यस छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु समावेश गरी प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.