|

महोत्तरी : चिसो अत्यधिक बढेपछि महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन्। 

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए। 

रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताए। 

साथै गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला  नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ। आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.