|

काठमाडौँ : आज (शुक्रवार) दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा आएका छन्। आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएका ती दुई चलचित्र फरक विधाका छन्। 

ती चलचित्रमार्फत ३ नयाँ अनुहार रजतपटमा भित्रिएका छन्। चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नवप्रवेशीहरुको आगमन बढिरहेको हो।

दीपक श्रेष्ठले निर्देशन गरेको ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेत्री रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठले अभिनय प्रारम्भ गरेका छन्। निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई कुनै न कुनै रूपमा अगाडि ल्याइरहेको जानकारी दिए।

‘नयाँ अनुहारलाई हामीले प्राथमिकता नदिए कसले दिन्छ? हाम्रो काम नै प्रतिभालाई पर्दामा ल्याउनु हो। यसपटक मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार हुनुहुन्छ,’ उनले भने।

उन निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बू, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजवल्लभ कोइराला र अभिनेत्री युना उप्रेतीलगायतले आफ्नो करिअर थलेका हुन्।

युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढाव चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित भएको बताइन्।

‘अनुभवी निर्देशकसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ। यो अनुभव मेरा लागि आउँदो समयमा उपयोगी हुनेछ,’ अभिनेत्री बुढाथोकीले भनिन्, ‘अभिनयमा रुचि हुनेलाई अहिले सहज भएको छ। हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौँ। हामीजस्ता नयाँलाई अहिले सहज भएको छ।’ 

मण्डला नाटकघरमा ७ वर्षमा १३ वटा नाटकमा अभिनय गरेका अभिनेता श्रेष्ठले चलचित्रमा नायक बन्ने मौका बल्ल पाएको बताए।

‘रङ्गमञ्चमा गरिरहेको अभिनय र चलचित्रमा भिन्नता हुने रहेछ। मैले नयाँ अनुभव पाएँ। यसले आगामी समयमा नाटकमा पनि मलाई सघाउनेछ,’ उनले भने, ‘म कलात्मक र व्यावसायिक भनिने दुवै चलचित्रमा काम गर्न चाहन्छु। किनकि म नायक मात्र नभई कलाकार बन्न चाहन्छु।’

उक्त चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायत कलाकारले पनि अभिनय गरेका छन्। आजै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चित्रा’ मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले अभिनय यात्रा शुरू गरेका छन्।

नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका उनले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि बढेको बताए।

‘मैले केही कार्यक्रम (इभेन्ट) गर्नाका साथै केही चलचित्र निर्माणसमेत गरेँ। साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो। सक्छु भन्ने लागेरै अभिनय गरेँ,’ अभिनेता अधिकारीले भने, ‘यसमा मैले पिताको भूमिका निर्वाह गरेको छु। पर्दाबाहिर निर्वाह गरिरहेको दायित्वलाई पर्दाभित्र ल्याउन असहज भएन। द्वन्द्वका दृश्यमा भने मेहनत गरेँ।’

अभिनेता अधिकारीको प्रवेशले अभिनय यात्रा प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले बताए। ‘मलाई चाहिएको पिताको पात्रमा उहाँ भावनात्मक रुपमा समेत जोडिएको पाएँ। उक्त भूमिकालाई न्याय गर्ने भएकाले नै ‘कास्टिङ’ सम्भव भएको हो,’ उनले भने।

उक्त चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अञ्जना बराइली, अर्पण थापा, सिम्रन खड्कालगायत कलाकारको पनि अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.