|

काठमाडौँ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले माघ २४ गते जनप्रदर्शन एवं जनसभा गर्ने भएको छ। बिगेसोले आज (बुधबार) पत्रकार सम्मेलन गरी काठमाडौंको शान्ति वाटिकामा बिहान ११:३० मा जनप्रदर्शन एवं जनसभा गर्न लागेको जानकारी दिएको हो।

बिगोका अनुसार बिगेसोले सर्वोच्च अदालतको निर्देशात्मक आदेश प्राप्त भएको दिन माघ २४ गतेलाई सम्पूर्ण गोर्खा सैनिकले आफूविरुद्ध भइरहेको अन्याय, असमानता र विभेदका विरुद्ध न्याय, समानता र स्वाभिमानका लागि चलाउँदै आएको अभियान एवं आन्दोलनको पक्षमा हासिल हुन आएको महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

‘महत्त्वपूर्ण उपलब्धि मात्र नभएर नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको हितको विषयसँग समेत जोडिएको विषयका सम्बन्धमा भएको ऐतिहासिक फैसला भएकाले सार्वजनिक रूपमा सभ्य एवं भव्य रूपमा कार्यक्रम मनाउने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।

सन १९४७ को नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएका गोर्खा सैनिकमाथि हुँदै आए‌को अन्याय, असमानता र विभेदका विषयमा निरन्तर आवाज उठाइरहेको र गठित रूपमा अभियान, आन्दोलन र संघर्षको शुरुवात भएको तीन दशक भइसकेको बिगेसोले जनाएको छ।

२०७४ साल जेठ २६ गते बिगेसोका सभापति पदमसुन्दर लिम्बू लगायतले नेपाल सरकारलाई विपक्षी बनाएर नेपालको सर्वोच्च अदालतमा सन १९४७ नोभेम्बर ०९ तारिखमा सम्पन्न त्रिपक्षीय सम्झौतालाई राष्ट्रिय स्वाधीनताको विषयसँग जोडिएको विषय भएकाले खारेजीको माग गर्दै रिट निवेदन दर्ता गरेका थिए।

उक्त रिट निवेदन दर्ता गरेको पाँच वर्षपछि २०७९ माघ २४ गते अदालतले विपक्षी नेपाल सरकारका नाममा सार्वजनिक महत्त्वको मुद्दाको रूपमा निर्देशात्मक आदेश जारी गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.