|

ललितपुर : आगामी साता हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डका लागि वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ। 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पुरुष र महिला वर्ष खेलाडीका् ८–८ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो।

यसअघि समान ५–५ खेलाडीको मनोनयन हुने उक्त विधामा मञ्चले यो पटकदेखि नयाँ प्रयोग गर्दै उत्कृष्ट ८ को मनोनयन सार्वजनिक गरेको हो। 

वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीलाई स्पोर्टस् अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए। 
उत्कृष्ट ८ को मनोनयन गरिएको चार विधामा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक भए पनि वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको उत्कृष्ट ८ को मनोनयन सार्वजनिक हुन बाँकी छ। 

महिला वर्ष खेलाडी मनोनयमा एथलेटिक्सको बर्चस्व छ। या्े विधामा ३ खेलाडी मनोनयमा परेका छन्। एथलेटिक्सकी पुष्पा भण्डारी, राजपुरा पछाई, जयरानी परेका हुन्। यस्तै फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनकी श्रेवी महर्जन पनि वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन्।

त्यस्तै वर्ष पुरुष खेलाडीको उत्कृष्ट ८ मनोनयनमा क्रिकेट र एथलेटिक्सका समान २–२ खेलाडी परेका छन्। राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र आसिफ शेख, एथलेटिक्सका दीपक अधिकारी र मुकेश पाल तथा राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ रहेका छन्।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई मनोनयन गरिएको हो।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने महासचिव ओलीले बताए। अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ। 

यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन होटल याक एण्ड यतिमा घोषणा हुने मञ्चले जनाएको छ।

यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन्।

उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ। ई–सेवाबाट भोटिङ र नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ पल्सर स्पोर्टस् अर्वाड तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड  कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर नेपालबाट भोटिङ जारी छ। 

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपुर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.