|

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीवार शुरु हुने ३ खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताएका छन्।

सिरिजअघि बुधवार आयोजित पत्रकार सम्मेलनमा रोहितले टोलीले लामो तयारी गर्न नपाए पनि राम्रो खेल्ने दावी गरे।

‘हामीले यस सिरिजका लागि भनेर छुट्टै तयारी गर्न पाएका छैनौँ तर पनि टिमको रुपमा २ दिन अभ्यास गरेका छौँ। सिनियर खेलाडी प्रधानमन्त्री कपमा व्यस्त रहेको र जुनियर खेलाडी पनि भर्खरै यू–१९ विश्वकप खेलेर फर्किएकोले खेलाडीले पूरा एक्स्पोजर पाएका छन्। नियमित खेलिरहेकोले सिरिज जित्छौँ भन्ने लागेको छ,’ उनले भने।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले विशेष तयारी नभए पनि क्यानडासँगको शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए। उनले नेपाली टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्न सबै खेलाडी उत्साहित रहेको बताए। 

‘प्रधानमन्त्री कप आयोजना हुनु राम्रो पक्ष हो। क्यानले यसपटक नयाँ शैलीमा प्रतियोगिता आयोजना गरेर राम्रो गर्‍यो। ३ वटा मैदानमा खेल भयो। यसले नयाँ खेलाडी उत्पादनमा सघाएको छ र टोलीमा नयाँ खेलाडी आएका छन्,’ उनले भने,‘ शृंखलाका लागि २ दिनमात्र अभ्यास गर्न पायौँ तर पनि उत्साहित छौँ। शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास छ।’

क्यानडाविरुद्ध शृंखलाका लागि प्रशिक्षक देसाईले आकाश, चन्द, हेमन्त धामी र रिजन ढकाललाई पहिलो पटक राष्ट्रिय टोलीमा खेल्न बोलाएका छन्। अनिल साह र पवन सराफ फेरि टोलीमा फर्केका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही माघ २५ गते‚ २७ गते र २९ गते (फेब्रुअरी ८, १० र १२) हुने सिरिजका लागि नेपालले यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि क्यानाडेली टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.