|

काठमाडौँ : दोस्रो संविधानसभाबाट २०७२ भदौ ३० मा पारित भएको नयाँ संविधान असोज ३ गते जारी हुँदै गर्दा खुसियालीमा ताली ठोक्ने सबैभन्दा धेरै सभासद् देशकै पुरानो पार्टी नेपाली कांग्रेसका थिए। ​तत्कालीन​ संविधानसभाका ६०१ सदस्यमध्ये कांग्रेसका मात्रै २०७ जना थिए।

उनीहरूले ताली ठोक्ने र हस्ताक्षर धस्ने मात्र नभई त्यसअघि ‘धर्म निरपेक्ष’ रहने संविधानका प्रत्येक भाग, धारा र अनुसूचीमा बहस पनि गरेका थिए। 

नेपालकै इतिहासमा जनप्रतिनिधिमार्फत मस्यौदा तयार पारिएको यो संविधान जारी हुँदा डा. रामवरण यादव राष्ट्रपति थिए, जो कांग्रेसबाटै निर्वाचित भएका थिए। कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिका संयोजक थिए। यसरी आफ्नै उल्लेख्य सहभागितामा निर्माण भई जारी यही संविधानले अवलम्बन गरेको ‘धर्म निरपेक्षता’विरुद्ध अहिले कांग्रेसमा मत बलियो बन्दै गएको छ।  

आगामी महासमिति बैठक (नीति अधिवेशन)मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दु राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै कतिपय नेताहरू जोडतोडका साथ लागिपरेका छन्। विगतदेखि नै हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका कांग्रेस सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा महासमितिको सम्मुखमा मंगलबार ‘हिन्दु राष्ट्र महाअभियान’ नै घोषणा गरिएको छ। 

महाअभियानका संयोजक नेता भण्डारी महासमितिमा कुनै पनि हालतमा हिन्दु राष्ट्रको एजेन्डामाथि छलफल हुने र निष्कर्षमा पुग्ने दाबी गर्छन्। केन्द्रीय समितिले नै हिन्दु राष्ट्रको मुद्दालाई महासमितिको मूल एजेन्डा बनाउनुपर्ने उनको माग छ।  

‘हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रीय समितिले महासमितिको मूल एजेन्डाकै रूपमा लानुपर्छ भन्ने हाम्रो माग छ‚ भएन भने फ्लोरबाटै भए पनि कुरा उठ्छ। छलफल हुन्छ’, उनी भन्छन्, ‘महासमितिबाट कांग्रेसले हिन्दु राष्ट्रको मुद्दा पार्टीको मुद्दा बनाउने सम्भावना मैले एकदमै देखेको छु।’  

हिन्दु राष्ट्र स्थापनाको मुद्दालाई कांग्रेसले आफ्नो बनाएर जनतासामु जानुपर्ने नेता भण्डारी बताउँछन्। उनले अन्य धर्मको पनि सम्मान गर्ने भए पनि मूल धर्म हिन्दुको रक्षा गर्नुपर्ने भएकाले महाअभियानमा लागेको तर्क गरे। 

‘धर्म निरपेक्षतासहितको संविधान त हिजो तपाईँहरूले नै बनाएर जारी गर्नुभएको होइन र?’ भन्ने थाहाखबरको प्रश्नमा नेता भण्डारीले भने, ‘त्यतिखेरै पनि समस्यौदा समितिमा फरक मत राखेको हो। संविधानसभामा पनि धर्म निरपेक्षता कुनै हालतमा राख्नुहुँदैन भनेका थियौँ तर सम्झौताको दस्तावेजका रूपमा संविधान जारी गर्नुपर्ने भएकाले अरू कुरा मिलाएर गर्दै जाउँला‚ अहिलेलाई संविधान जारी गरौँ भन्ने आग्रहलाई मानेका हौँ।’

पहिला खुमबहादुर खड्काले पनि हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका थिए। उनको निधनपछि यो मुद्दाको पक्षमा उभिएकाहरू नेतृत्व भण्डारीले गर्दै आएका छन्। नयाँ संविधान जारी भएको तीन वर्ष नबित्दै कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भएको थियो। 

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले गत मंसिरमा पूर्वी नवलपरासीबाट हिन्दु राष्ट्रबारे ‘ग्रिन सिग्नल’ दिएका थिए। मंसिरमा ११ मा जिल्ला सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका उनले भनेका थिए, ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिन्छ तर गणतन्त्रको विकल्प छैन।’ सभापति देउवाबाटै ‘ग्रिन सिग्नल’ पाएपछि कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा बलियो मत बन्दै गएको देखिन्छ।

कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसी हिन्दु राष्ट्र स्थापनार्थ संविधान नै संशोधन गर्नुपर्ने भएकाले त्यतैतर्फ लाग्नुपर्ने बताउँछन्। संविधान जारी गर्ने वेला बनेको सहमति अब पुनर्विचार गर्नैपर्ने उनको पनि मत छ। 

‘त्यो वेलाको समग्र राष्ट्रिय सहमतिको दृष्टिकोणले यसमा जुन खालको निष्कर्ष निस्कियो‚ त्यसलाई अब समयसापेक्ष पुनर्विचार र संशोधन आवश्यक छ’, उनी भन्छन्, ‘संविधानभित्र रहेका धर्मका कुरा होस्, चाहे सन्तुलन र समावेशिताको कुरा होस् वा निर्वाचन प्रणालीका कुरा।’

पार्टीको दस्तावेजमा नसमेटिए पनि महासमितिमा यो विषय उठ्ने र गम्भीर छलफल हुने नेता केसी बताउँछन्। ‘पार्टी दस्तावेजमा त आउँदैन होला तर कुनै न कुनै ढंगले त यो विषयले प्रवेश पाउँछ नै। विषय आइसकेपछि आ-आफ्नो विचार व्यक्त हुन्छ’, उनी औंल्याउँछन्, ‘अब यसबारे पार्टीले एउटा निर्णय गर्नैपर्ने स्थिति छ।’ 

नेता केसीले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा निष्कर्षमै नपुगे पनि व्यापक जनभावना यसैको पक्षमा रहेको बताए। यसलाई समेटेर कांग्रेस अघि बढे उपयुक्त हुने उनको भनाइ छ। ​

कांग्रेस सहमहामन्त्री जीवन परियारले भने मध्यमार्गी धारणा राखे। उनले धर्म निरपेक्ष वा सापेक्ष यही सही छ भनेर निष्कर्षमा पुग्ने वेला भइनसकेको बताए। 

‘अहिले नेपालमा धर्मका नाममा द्वन्द्व सृजना हुने परिस्थिति सृजना हुँदै छ। यो आफैँमा राम्रो कुरा होइन तर छलफलै गर्नुहुँदैन, बहस गर्नै दिनुहुँदैन भनेर बन्देज लगाउन पनि हुँदैन’, उनी भन्छन्, ‘तर हामीले अहिले नै भइरहेको व्यवस्था नितान्त खराब छ वा धर्म सापेक्ष बनाउनैपर्छ भन्ने कुरा पनि फेरि आफैँमा सर्वमान्य विचार होइन।’ 

सहमहामन्त्री परियारले नेता शंकर भण्डारी नेतृत्वमा महाअभियान पार्टीको निर्देशनमा नभई स्वतःस्फूर्त रूपमा बनेको स्पष्ट पारे। यद्यपि उनले महासमितिमा यो विषयमा छलफल भने हुने बताए। ‘हिन्दु राष्ट्र स्थापना महाअभियान पार्टीले बनाएको होइन’, उनले भने ‘तैपनि हाम्रो पार्टीमा विगतदेखि नै विचार आइरहेको छ। त्यसैबमोजिम त्यो कुरा अहिले पनि आउन सक्छ तर कसरी आउँछ भन्ने अहिले केही भन्न सकिने अवस्था छैन।’

कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए। २०७५ मंसिर पहिलो साता उनले नेपाल हिन्दु राष्ट्र हुने कि धर्म निरपेक्ष भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। अहिले पनि उनी धर्म निरपेक्षताको पक्षमा छैनन्। नेता कोइरालाले संविधानमा ‘धर्म स्वतन्त्र’ राख्नुपर्ने बताउँदै आएका छन्।   

कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता शेखर कोइरालाले हिन्दु राष्ट्र स्थापनाको मुद्दा नकार्न नसके पनि तत्काल यो सम्भव नरहेको बताउँछन्। यसका लागि संविधान नै संशोधन गर्नुपर्ने र धर्म सापेक्षता तथा निरपेक्षतालाई लिएर संविधान संशोधन कठिन रहेकाले तत्काल सम्भव नरहेको उनको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.