|
फाइल तस्वीर

विराटनगर : लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ।

गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरे।

तर सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो। 

सहयात्री दल एकीकृत समाजवादी र आफ्नै दल नेपाली कांग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरीत अगाडि बढेको भन्दै विकल्प खोज्न तयार रहेको बताएका थिए। जसले गर्दा अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार कतिसम्म टिक्ला भन्ने बहसको विषय बनेको छ।

त्यसो त मुख्यमन्त्री कार्कीले एकजना राज्यमन्त्री बनाउने र एकीकृत समाजवादीलाई थप १ मन्त्रालयको जिम्मा दिने सहमति भएको थियो। 

यता, कांग्रेसका ६ जनालाई मन्त्रालयमा समावेश गर्दा एकजना मात्रै संस्थापन पक्षबाट मन्त्री बनाएका छन्। यसले गर्दा पनि सत्ता गठबबन्धन दलभित्रै असन्तुष्टि पैदा भएको हो।

एकीकृत समाजवादीका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीले गठबन्धनको सहमतिविपरीत सरकार विस्तार गरेको र गल्ती नसच्याए सरकारको विकल्प खोज्ने चेतावनीसमेत दिएका थिए।

त्यसो त मुख्यमन्त्री कार्कीकै दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले पनि असन्तुष्टि व्यक्त गरेका थिए। थापाले मुख्यमन्त्री सहमति र गठबन्धनको भावनाअनुसार अघि बढ्न नखोजेको र यसले गर्दा बोकेर, काँध हालेर हिँड्न नसकिने अवस्था आएको बताएका थिए।

यसअघि अध्यादेश ल्याउँदा पनि  कुनै सल्लाह नगरी ल्याएकाले आपत्ति रहेको पूर्वमुख्यमन्त्री राईको भनाइ थियो।

अस्तव्यस्त राजनीति

मुख्यमन्त्री कार्कीले आफूखुशी निर्णय गर्दा प्रदेशको राजनीतिक अवस्था अस्तव्यस्त रहेको गठबन्धन दलभित्रकै नेताहरु बताउँछन्।

शुक्रवार मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्रीद्वय उद्धव थापा र राजेन्द्र राईको अनुपस्थितिले पनि दलभित्र चर्को असन्तुष्टि रहेको संकेत दिएको थियो।

सरकारको निरन्तरताको टुंगो नभए पनि मुख्यमन्त्रीको काम गराइअनुसार अब गठबन्धनले पनि उनलाई सहयोग र समर्थन गरेर जाने अवस्था नभएको दलका नेताहरु बताउँछन्।

यता, माओवादी  केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने भनेजस्तो सल्लाह नभएरै समस्या आएको बताउँछन्।

उनले कोही पनि अस्थिरताको पक्षमा नभएको बताउँदै सरकार नियमित चलोस् भन्ने धारणा रहेको बताए। उनले भने, ‘गठबन्धन र सबैलाई समेट्ने जिम्मेवारी मुख्यमन्त्रीको हो।’

यता, सरकार विस्तारकै विषयमा जसपले पनि असुन्तुष्टि जनाएको छ। नामकरणको विषय सम्बोधन नभएसम्म सरकारमा नजाने भन्ने जसपाको निर्णय थियो।

यद्यपि सरकार विस्तारको क्रममा जसपासँग कुनै सल्लाह नभएको पार्टीका केन्द्रीय सदस्य जयराम यादवले बताए।

मुख्यमन्त्रीको एक्लो यात्राले भोलिका दिनमा असहज परिस्थिति नआउला भन्न नसकिने नेताहरु बताउँछन्।

सुझाव नसुन्ने मुख्यमन्त्री कार्कीको प्रवृत्तिले पनि सधैँ संकटमा पर्ने सम्भावना हुन लागेको सत्ता गठबन्धन दलको एक नेताले बताए।

मुख्यमन्त्रीले आफूखुशी गर्ने र आफूले गरेको गल्तिको आत्मलोचना नगरे सकारात्मक सन्देश नजाने ती नेताले बताए।

अर्को विकल्पको तयारीमा दलहरु

​स्रोतले दिएको जानकारीअनुसार कांग्रेसभित्रै हस्ताक्षर संकलन थालिएको छ। सरकारको कार्यशैलीप्रति प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सांसद असन्तुष्ट भएको भन्दै उनीहरुले सरकारको विकल्पको तयारी थालिएको बताइएको छ।

आफ्नै दलका नेता र गठबन्धनको सहयात्री दलले विकल्प सोच्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि मुख्यमन्त्री कार्की भने अझ आक्रोशित बनेको गठबन्धन दलका नेताहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.