|

खोटाङ : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नति अगाडि बढेको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। 

प्रदेश सरकार र गाउँपालिकाको ५०\५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। 

बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याबिन, मेसिनरी वाल, ड्रेन, आरसिसी ढलान, ग्राभेल र माटो फिलिङलगायतका काम भइरहेको छ।

धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ। २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो।

मूल्य अभिवृद्धि करसहित एक करोड ७२ लाख ४१ हजार २४४ रुपैयाँमा ठेक्का लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ १५ गते एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए। यो सडकखण्डमा दुई हजार ५०८ घनमिटर माटो कटिङ, ४३.३८ घनमिटर ब्रेकर, ३१३.२३ घनमिटर ढुङ्गा सोलिङ, ६८४ घनमिटर ग्याविन वाल र १६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ। 

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए। ‘ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ। ग्राभेल ५४ घरटिरमात्र बाँकी छ। ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ। करिब ७० जना कामदार छन्’, उनले भने, ‘समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ।’

यस्तै, संघीय सरकारसँगको लागत साझेदारीमा शुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। मूल्य अभिवृद्धि करसहित रु ७७ लाख ११ हजार ९४० मा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो। 

२०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ। निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले जानकारी दिए। 

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन। खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ। 

२०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो। वेल फाउण्डेसन प्रविधिको मोटरेबल पुल निर्माण शुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण शुरु गरिएको हो।

भ्याटबाहेक रु २२ करोड ५० लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ। ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ २०० मिटर लामो छ। 

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापारबाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन। धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा गाईघाट पुग्न करिब एक दिन लाग्ने  स्थानीय बासिन्दा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.