विराटनगर : याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने ‘सुगुप’को कथामा निर्मित फिल्मको विशेष प्रदर्शन हुने भएको छ।
फिल्मको माध्यमबाट लिम्बू भाषा‚ संस्कार, संस्कृति संवर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न निर्मित फिल्म ‘सुगुप’ फागुन २८ गते विराटनगरमा देखाइने भएको हो।
फिल्ममा लिम्बू जातिमा प्रसव पीडा अथवा सुत्केरी ब्यथाका कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरीकै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ।
सुगुप भएर मृत्युवरण गरेकी महिलाको गरिने मृत्यु संस्कार सामान्य मृत्युमा गरिनेभन्दा अलग हुन्छ। सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरूको के कस्तो भूमिका रहन्छ यो फिल्ममा देखाउन खोजिएको छ।
फिल्म ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फुलन्देको बाउ), बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेलालगायत कलाकारले अभिनय गरेका छन्।
फिल्मका गीतमा शब्द यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङले दिएका छन् भने पार्श्व सङ्गीत अशोक लोहरुङ राईको रहेको छ। राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुले फिल्मका गीतमा स्वर भरेका छन् भने फिल्मको पटकथा देवेन्द्र खापुङ (सुरकेली)को छ।
युवराज राई (वीरबहादुर)को छायांकन रहेको फिल्ममा सम्पादन विपिन्न मल्ल, कलरिष्ट रेनिस फागो, प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिनकुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो रहेका छन्।
फिल्मको नृत्य निर्देशन कमल राईको, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको, कला निर्देशन निश्चल कुलुङ राईको रहेको छ।
भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँवा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरूमा छायांकन गरिएको फिल्ममा कथा/निर्माता/निर्देशन लोकेन साँबा लिम्बुको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।