|

काठमाडौं : आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पक्षमा महामन्त्री गगन थापा अडिग रहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन्।

ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै उनले निर्वाचन आउनुभन्दा चार वर्षअघि नै यसबारे छलफल गर्नु आवश्यक नरहेको बताएका हुन्। 

महामन्त्री शर्माले प्रतिवेदनमार्फत निर्वाचनमा कसरी जाने भन्नेबारे उपयुक्त समयमा निर्णयमा पुग्नुपर्ने उल्लेख गरेका छन्। उनको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन आउनुभन्दा ४ बर्ष अघि नै निर्वाचनबारे छलफल गर्नु आवश्यक बिषय होइन। त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौं या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौँ ? यो विषयमा हामी भित्र रहेका स्वभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा हामी उपयुक्त निर्णयमा पुग्नेछौं नै।’ 

तर महामन्त्री शर्माले अहिले रहेको गठबन्धन पनि आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भनेका छन्। पुस १० भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा फेरि ‘ट्रयाक’ आउनुले गठबन्धनप्रति सबै दल प्रतिबद्ध थिए र छन् भन्ने कुरा स्पष्ट हुने उनले उल्लेख गरेका छन्। 

महामन्त्री शर्माले कोशी प्रकरणबारे गठबन्धनमा गम्भीर समीक्षा हुनुपर्ने पनि स्पष्ट पारेका छन्। प्रतिवेदनमा भनिएको छ, ‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रती असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.