|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री एवं उपकुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरेको तीन दिन बितिसकेको छ। 

समितिले गत आइतबार नै १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै  १ नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।

समितिले सिफारिस गरेपछि यतिखेर त्रिविले उपकुलपति पाइसक्नुपर्ने हो तर प्रधानमन्त्री प्रचण्डले निर्णय लिन नसक्दा अझै पनि उपकुलपति नियुक्त हुन सकेको छैन। उपकुलपति नियुक्ति गरिसक्नुपर्ने वेला झनै विवाद बढ्दै गएका छन्। 

अर्कोतर्फ प्राडा चित्रबहादुर बुढाथोकी उपकुलपति नियुक्त नहुँदै आइरहेको बधाईले हैरानी खेप्दै छन्। सोमबार रातिबाट सामाजिक सञ्जालमा त्रिविको उपकुलपतिमा प्राडा बुढाथोकी नियुक्त भएको भन्दै बधाईको ओइरो लागेको थियो तर मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले अझै नियुक्ति प्रक्रिया प्रक्रियामै रहेको बताए।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डल प्रचण्डले भनेका छन्, ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ।’

सोमबार राति माओवादीका नेता देवेन्द्र पौडेलले प्राडा बुढाथोकी उपकुलपति नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिएपछि सोही आधारमा बुढाथोकीलाई बधाई दिनेको ओइरो लागेको थियो। बागलुङका बुढाथोकी र पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेल बागलुङका सांसद हुन्।

उनी नम्बरको आधारमा पनि बुढाथोकीलाई नियुक्त गर्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले भने बराललाई नियुक्त गर्न चाहेको बुझिएको छ। बधाई दिन पौडेल हतारिएका कारण पनि उनी बुढाथोकीलाई नियुक्त गर्नुपर्ने चाहन्छन्। त्यही कारण पनि भिसी नियुक्त गर्ने प्रक्रिया रोकियाे। शिक्षामन्त्री अशोककुमार राईका स्वकीय सचिव युवराज राईका अनुसार हिजो (मंगलबार) नै भिसी नियुक्त गर्ने तयारी थियो तर नियुक्ति गरिएन।

उता, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्तिमा भने मापदण्डलाई लिएर विरोध गर्दा सबै नियुक्ति प्रक्रिया रोकिएको छ। मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका एक सदस्यका अनुसार आवेदक र आवेदन दिन इच्छु व्यक्तिहरूले रोक्नुपर्ने दबाव आएपछि यो निर्णय लिइएको हो।

ती सदस्यले भने, ‘केही व्यक्तिले उपकुलपति मापदण्डलाई लिएर प्रक्रिया रोक्नुपर्ने दबाव दिएपछि तत्काललाई स्थगित गर्ने निर्णय गरिएको हो।’ उनका अनुसार त्रिविको हकमा मापदण्ड खुकुलो हुने तर मध्य र सुदूरपश्चिमका लागि किन कडाइ गरियो? भन्ने प्रश्न उठाएका छन्। उक्त मापदण्ड पुर्‍याउन नसकेका कारण  सच्याउनुपर्ने माग उनीहरूले उठाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.