|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।

आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिशन खाने काममा मन्त्री किराती लागेको आरोप लगाएका हुन्।

उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो भन्दै सोधे।

उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउन खोजिएको भन्नेबारे सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताए।

‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्‍यो भनेर हिँडिरहनुभएको छ। ट्विनअटर क्यानडाबाट २/३ वटा किन्ने अहिले निर्णय भएको छ। थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन‚’ उनले भने, ‘त्यसमा झन्डै १८ करोड नेपाली रकम कमिशन खाने खेलमा लागिएको छ।’

आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ भन्दै प्रश्नसमेत सांसद खतिवडाले गरे।

‘एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेश गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ। यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय?‚‘ उनले भने‚ ‘सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभी लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ?’

सांसद खतिवडाले सरकारले सुशासनको नाममा ल्हारक्याल लामाजस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको आरोप पनि लगाए।

उनले शान्तिका दूतको क्षेत्रमा लकरमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.